
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल र अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजना ‘इन्स्योर’बीच सम्झौता भएको छ । बृहत् तालिम सञ्चालनका लागि बुधवार यो सम्झौता भएको हो ।
उक्त सम्झौतामा नाडाको तर्फबाट अध्यक्ष ध्रुव थापा र सो परियोजनाका तर्फबाट सो संस्थाका टिम लिडर रवीन्द्र बहादुर सिंहले हस्ताक्षर गरेका छन् । सो कार्यलाई अघि बढाउन दुवै संस्थाको सहमतिमा नियम र सर्तहरू समेत तयार गरिएको छ ।
नाडाका सदस्य कम्पनीहरूमा कार्यरत कर्मचारी, प्राविधिज्ञहरू लगायत नयाँ कर्मचारी र प्राविधिकहरुलाई दक्ष र सिपयुक्त बनाउनका लागि यो सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठयक्रम तयारगरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिने छ । जसका लागि नाडाका सदस्य कम्पनीहरुले आफ्ना आवश्यकताअनुसार कर्मचारी तथा प्राविधिकहरुलाई तालिम दिन सिफारिस समेत गर्नेछ । जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको तालिम समावेश हुनेछ ।
नाडाले आफ्नो इतिहासमा पहिलो पटक यस किसिमको तालिमहरू सञ्चालन गर्न लागेको हो र नाडाले यसलाई दीर्घकालसम्म सञ्चालन गर्ने उद्देश्य राखेको छ । यस किसिमको तालिमले अटोमोवाइल क्षेत्रमा सहज रूपमा दक्ष जनशक्ति पूर्ति हुने विश्वास नाडाले लिएको छ । यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालय समेतको व्यवस्था गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस