aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

असार १० गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै अप्पर स्याङ्गे हाईड्रोपावर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असार २०८०
असार १० गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्दै अप्पर स्याङ्गे हाईड्रोपावर

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले असार १० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा आईपीओ विक्री गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ गतेदेखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ गतेदेखि १६ गतेसम्म आईपीओ विक्री गरेको थियो । जारी पूँजी रू. २२ करोडको १० प्रतिशत अर्थात रू. २ करोड २० लाख बराबरको प्रतिशेयर रू. १०० दरका २ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बाँडफाँट गरेको छ । 

त्यस्तै, दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता बाँडफाँट गरेको हो । पहिलो चरणको आईपीओ स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ ३० गते बाँडफाँट गरेको थियो । 

कम्पनीले बाँकी कित्ता आईपीओमध्ये पनि ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा बाँडफाँट गरिएको बताएको छ । यी वाहेक १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । सर्वसाधारणमा आईपीओ विक्री अवधि छिटोमा असार १३ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा ढिलोमा असार २४ गतेसम्म विक्री लम्बिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका शाखामार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरको प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  

कम्पनीले लमजुङ्ग जिल्लामा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाको कुल अनुमानित लागत रू. ५० करोड ४८ लाख रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत रू. २१ करोड ३ लाख रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस