aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

पुँजी नपुर्याएका निर्जीवन बीमा कम्पनीहरु यसो गर्दैछन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
पुँजी नपुर्याएका निर्जीवन बीमा कम्पनीहरु यसो गर्दैछन्

काठमाडौं । धितोपत्र बजारमा सूचीकृत १५ निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म १० कम्पनीले मात्र बीमा समितिले तोके बमोजिम चुक्ता पुँजी कायम गरेका छन । बीमा समितिले २०७५ असार मसान्तभित्र निर्जीवन बीमा कम्पनीलाई एक अर्ब रूपैयाँ चुक्तापुँजी कायम गर्न निर्देशन दिएको थियो । सो अवधिसम्म १५ मध्ये १० कम्पनीले मात्र पुँजी कायम गर्न सफल भएका हुन ।
 हाल दुई विदेशी बीमा कम्पनीसहित २० निर्जीवन बीमा कम्पनी सञ्चालित छन् । विदेशी बीमा कम्पनीको हकमा न्यूनतम चुक्ता पुँजी बराबरको निर्धारित पूँजी कायम गर्नुपर्नेछ । दुई विदेशी निर्जीवन बीमा कम्पनी नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्योरेन्स रहेका छन् । यी बाहेक तीन नयाँ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गरी पुँजी कायम गर्नेछन् ।
बीमा कम्पनीले समितिले तोके बमोजिम चुक्तापुँजी कायम गर्ने गरी पुँजीवृद्धि योजना पेश गरेका थिए । हकप्रद र बोनस शेयरमार्फत कम्पनीहरुले पुँजी वृद्धि गर्ने योजना बनाएका थिए । बोनसको लागि बीमा समितिको स्वीकृतिपश्चात वार्षिक साधारण सभाले पारित गर्ने प्रक्रिया पछि वितरण गर्न सकिने भए पनि हकप्रदका लागि नेपाल धितोपत्र बोर्डको समेत स्वीकृति पाउनुपर्ने कारण कतिपय कम्पनी अलमलिएको देखिन्छ । बीमा समितिले तोकिएको अवधिमा चुक्तापूँजी कायम नगर्ने कम्पनीलाई सञ्चालक, संस्थापक र आधारभूत शेयरधनीबाट अग्रिम रकम उठाउन समितिले निर्देशन दिएको छ । निर्जीवन बीमा कम्पनीमा चुक्ता पुँजी पुर्याउन बाँकी ५ मध्ये ४ कम्पनीले हकप्रद शेयरको बाटो रोजेका छन् । 
अहिलेसम्म तोके बमोजिम पुँजी कायम गर्न नसक्नेमा राष्ट्रिय बीमा कम्पनी, लुम्बिनी जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनी रहेका छन् । राष्ट्रिय बीमा कम्पनीलाई आव २०७५÷७६ सम्मको वार्षिक लेखा परीक्षण सम्पन्न पश्चात बास्तविक अवस्था हेरेर मात्र लाभांश वितरणको लागि बीमा समितिले निर्देशन दिएको कम्पनीका सचिव कृष्णमणि आचार्यले बताए । उनका अनुसार हालसम्म कम्पनीले आव २०७२÷७३ सम्मको वार्षिक लेखा परीक्षणको काम सम्पन्न भएको छ । युनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद बिक्री गरिसकेको छ भने अन्यले बिक्रीको तयारी गरेका छन ।

प्रतिक्रिया दिनुहोस