aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

उद्योगमा बिजुली पुर्याउने प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ असोज २०७६
उद्योगमा बिजुली पुर्याउने प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम

काठमाडौं । प्रदेश  नम्बर ५ को रुपन्देही तथा नवलपरासी (बर्दघाट, सुस्ता पश्चिम) र गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा सञ्चालित र आगामी दिनमा खुल्ने उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति गर्न प्रसारण लाइन र सबस्टेसनको निर्माण धमाधम भइरहेको छ ।

बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन र मैनहिया १३२/३३/११ केभी सबस्टेसन आयोजनाको समग्र भौतिक प्रगति करिब ४५ प्रतिशत छ । रुपन्देहीको योगीकुटी सबस्टेसनबाट शुरु भई मैनहिया पुग्ने प्रसारण लाइनको  लम्बाइ १८ किलोमिटर छ । दुई किलोमिटर भूमिगतसहित प्रसारण लाइन आयोजनाले ५७ टावर निर्माण गर्नुपर्ने छ । रुपन्देहीको भैरहवा क्षेत्रमा रहेका उद्योग र आम उपभोक्तालाई गुणस्तरीय, विश्वसनीय विद्युत आपूर्ति गर्न, चुहावट घटाउन, प्रसारण क्षमता सुदृढ बनाउन यो आयोजनाको निर्माण हुन लागेको हो । 


यसैगरी, चिनियाँ लगानीमा खुलेको होङ्सी सिमेन्टलाई विद्युत् आपूर्ति गर्न निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण  भौतिक प्रगति करिब ४५ प्रतिशत छ । २० किलोमिटर लामो आयोजनाले ६७ टावर निर्माण गर्नुपर्ने छ । त्यसमध्ये ४० टावरको जग हालिएको छ । बर्दघाट सबस्टेसनको स्तरोन्नती अन्तिम चरणमा पुगेको छ । 
प्रसारण लाइनको टावर रहने स्थानको निजी जग्गा प्राप्ति, वन क्षेत्रको जग्गा प्रयोगमा रहेको अधिकांश समस्याहरु समाधान भइसकेको र निर्माण सामग्री आयोजनास्थलमा आइसकेकाले दुवै आयोजनाका काम  बढीमा ६ महिना सकिने छ । 
प्रसारण लाइन र सबस्टेसन निर्माणमा ढिलाइ हुँदा पर्याप्त विद्युत् नपाएको गुनासो आएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुक्रबार र शनिबार आयोजनाको निर्माणस्थल  निरीक्षण गरेका छन् । कार्यकारी निर्देशक घिसिङले आयोजना व्यवस्थापन, ठेकेदारसँग निर्माणमा रहेको जग्गा अधिकग्रहण, वन क्षेत्रको जग्गा प्रयोग लगायतमा देखिएका  समस्याबारेमा जानकारी लिएका छन् । 
उनले बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी माघभित्र (जनवरी २०२०) र मैनहिया सबस्टेसनको काम पुस (डिसेम्बर २०१९)भित्र सक्न निर्देशन दिएका छन् । प्रसारण लाइन र सबस्टेसनको ठेकेदार कम्पनीहरुले तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता जनाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस