काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ खरिदका लागि मागभन्दा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार असार ३ गते बिहान १० बजेसम्म ३ लाख ९२ हजार २६७ जना आवेदकहरूबाट १ करोड ४० लाख ५८ हजार ६१० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २ गुणा बढी आवेदन हुन आउछ ।
कम्पनीले प्रिमियम सहित प्रतिकित्ता रू. ४३५ मूल्यमा सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. ३०० थप गरी प्रतिकित्ता रू. ४०० मा र प्रतिकित्ता रू. १०० मा प्रिमियमबापत रू. ३३५ थप गरी प्रतिकित्ता रू. ४३५ मा आईपीओ विक्री गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले प्रिमियम मूल्यमा कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति पाएको थियो ।
कुल कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा ३ लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता शेयर यस अघि बाँडफाँट गरिसकिएको छ ।
सर्वसाधारणले आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीको आईपीओ असार ४ गतेसम्म मात्र बिक्रीमा रहने भएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । बिक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिन तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस