aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

यसरी भयो कमोडीटी मार्केटका नाममा ६ अर्ब ठगी, सेबोनको नाम बेच्थे तर बोर्ड भने मौन बस्थ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असार २०८०
यसरी भयो कमोडीटी मार्केटका नाममा ६ अर्ब ठगी, सेबोनको नाम बेच्थे तर बोर्ड भने मौन बस्थ्यो

काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट अनुमति लिएको भन्दै बस्तु बजार (कमोडीटी तथा डेरिभेटिभ मार्केट) को अवैध कारोबार मार्फत १२ सय जनालाई ६ अर्ब भन्दा धेरै ठग्ने गिरोहका नाइकेहरू बिहीबार उच्च अदालत पाटनबाट सामान्य धरौटीमा छुटे । यसरी ठग भनिएकाहरू फेरी बजारमा छाती फुलाएर हिँड्ने अवस्था बनेपछि धेरैमा संशय पैदा भएको छ- के उनीहरूले गरेको कार्य ठगी थिएन ?

उनीहरूले गरेको कार्य कानुनीरुपमा सही ठहर्छ वा गलत त्यो त अदालतले नै अन्तिम फैसलामा भन्ला तर अहिले केही अहम् जिज्ञासा भने मेट्न सकिन्छ । त्यो प्रश्न हो, 'त्यत्रो पैसा कसरी ठगे होलान् ? के भन्दै झुक्काए होला ?' जसको जवाफ उनै ठगीका आरोपीहरूले आफ्नो बयानमा दिएका छन् ।

उनीहरूले ठगीको सुरुवात 'शेयर बजार सम्बन्धी ट्रेनिङ'को विज्ञापनबाट सुरु गरेको देखिन्छ । यसरी सेयर बजारको तीन दिने निःशुल्क तालिम दिने भन्दै मान्छे जम्मा पार्ने र उनीहरूलाई पुँजी बजारको सट्टा बस्तु बजारबाट आकर्षक कमाई हुने कुरा बताएर लोभ्याउने गरिन्छ । त्यसरी विज्ञापन गर्नेको काम हो, लगानीकर्ता जम्मा पार्ने ।

उनीहरूले पुँजी बजारको नेप्से जस्तै बस्तु बजारको मर्केंनटायल एक्सचेन्ज नेपाल (मेक्स नेपाल) हो भन्दै ढाँटेन र कथित रुपमा मेक्सिको ब्रोकरका रुपमा सञ्चालित अर्को ठगी अड्डामा पुर्‍याउने गर्छन् । ठगीको आरोप लागेका मध्ये एक जितेष सुरेन्द्रनले दिएको बयान अनुसार उनीहरूले धितोपत्र बोर्डबाट संचालन अनुमति पाएको भन्दै अर्कै बस्तुको कर तिरेको रसिद देखाएर लगानीकर्ता झुक्काउने गर्छन् ।

त्यसपछि कारोबारको लागि भन्दै उनीहरूले खोलेको अवैध संस्था हिमालयन क्लियरिंग कर्पोरेसनमा पैसा जम्मा गर्न लगाउने र उनीहरूलाई क्लाइन्ट कोड दिने काम गर्छन् । सो कोड र पासवर्ड प्रयोग गरी कारोबार गर्न लगाउने भने पनि खासमा त्यो सफ्टवेयर उनीहरूले नै चलाउँछन् । उनीहरूले न कुनै खरिद गर्छन् न बिक्री नै बरु हरेक कारोबारमा १२ सय रुपैयाँ कमिसन खाने गरेको उनीहरूले स्वीकारेका छन् ।

सुरु सुरुमा लगानीकर्ता लोभ्याउन केही कमाइ भए जस्तो, नाफा आए जस्तो देखाउने र पछि सबै गुमेको हिसाब देखाएर लुट्ने काम उनीहरूले गरेको देखिएको छ । यसरी क्लाइन्टलाई ठगेर सन् २०२० मा ४ करोड ७२ लाख ७५ हजार, सन् २०२१ मा ११ करोड २३ लाख ३३ हजार र सन् २०२२ मा २० करोड ६३ लाख ४३ हजार त हिसाबमा देखाएरै यसका सञ्चालकले मुनाफा बाँडेको देखिन्छ ।

उनीहरूले कारोबार गरिने बस्तुको रुपमा सुन, चाँदी, तामा, तेल, क्रूड आयल र ग्याँसलाई देखाउने  विश्व बजारमा आएको परिवर्तन सँगै यहाँ पनि हुन्छ भन्दै झुक्काउने गरेको देखिएको छ । खासमा बस्तु बजारमा भण्डार हुनुपर्छ तर यहाँ यिनीहरूले कुनै भण्डार (वायर हाउस) नै राखेका छैनन् किनकि यी केवल ठगहरू मात्र हुन् ।

बस्तु बजारमा लगानीकर्ता (क्लाइन्ट) ले गुमाउने मात्र हो । यसबाट हुने लाभ भनेको कथित एक्सचेन्ज र ब्रोकर चलाउने यस्तै ठगहरूले नै हो । यसलाई ठगका नाइके भएको आरोप लागेका जितेषले नै बयानका क्रममा स्वीकारेका छन् । उनको भनाई छ - एचसीसीको खातामा मार्केट मेकरको रुपमा काम गर्दा क्लाइन्टहरुले कारोबार गर्ने क्रममा गुमाएको सम्पूर्ण रकम जम्मा हुने गर्दछ ।

यसरी सन् २०२२ को डिसेम्बरसम्ममा उनीहरूले ६ अर्ब ३८ करोड ५० लाख ५४ हजार रुपैयाँ जम्मा गरेको उनीहरूले नै चलाउँदै आएको सफ्टवेयर र एक्सेल सिटमा देखिएको अदालतमा पेश भएको अभियोजन पत्रमा उल्लेख छ । यसबिच सो खाताबाट निकालिएको ३ अर्ब ३८ करोड १४ लाख ९९ हजार घटाउँदा पनि उनीहरूले लगानीकर्ताको ३ अर्ब ३५ लाख रुपैयाँ ठगेको देखिन्छ ।

तर, फेरि पनि विडम्बना नै भन्नुपर्छ आफ्नो नाम बेचेर, वेबसाइटमा सेबोनलाई आफ्नो नियामक निकाय भनेर राख्दै मान्छे झुक्काउने र ठग्ने काम गर्दा पनि नेपाल धितोपत्र बोर्ड भने मौन नै बसेको थियो । यसले न कुनै कारबाही वा त्यस विरुद्ध उजुरीमा नै गयो । त्यसैले कतै यो ठगीमा ठुलै कनेक्सन त छैन भन्ने प्रश्न पनि उठिरहेको छ ।

प्रतिक्रिया दिनुहोस