काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सिस्टममा समस्या आएका कारण पछिल्लो समय लोडसेडिङ भएको बताएका छन् । आइतबार प्राधिकरणमा आयोजना गरिएको पत्रकार सम्मेलनमा निर्देशक घिसिङले यस्तो स्पष्टीकरण दिएका हुन् ।
उनले भने, ‘हामीले केही दिन अगाडीदेखि विद्युत् निर्यात पनि सुरु गरेका छौँ । अहिले सिस्टममा आएको गडबडीका कारण मध्य नेपाल र पश्चिम नेपालका धेरै ठाउँहरूमा पटक पटक विद्युत् आपूर्तिमा अवरुद्ध भयो । यसले गर्दा धेरैले लोडसेडिङ गरेर निर्यात पो गरियो कि भन्ने गरेको पाइएको छ । त्यो कुनै हालमा होइन ।’
सिस्टममा अपरेसन भइरहेकाले गडबडी भएको मात्रै रहेको उनले दाबी गरे । लोडसेडिङका कारण समस्या परेका बताउँदै उनले सिस्टममा आएको समस्या समाधान गर्ने कार्यहरू भइरहेको उनले जानकारी दिए । ‘हामीले विद्युत् कटौती गरेर निर्यात गरेको भन्ने सत्य होइन । सिस्टममा आएको समस्याले गर्दा विद्युत् प्राधिकरणले समेत ठूलो घाटा व्यहोर्नु परेको छ’, उनले भने ।
पिक टाइम साँझ र बिहान बाहेक नेपालमा उपलब्ध बिजुली बढी नै रहेको र त्यो निर्यात गर्न आवश्यक रहेको उनको तर्क छ । नेपालमा उत्पादन भएर यहाँ खपत नभएको विद्युत् मात्र निर्यात गर्ने गरिएको बताउँदै उनले भने, ‘तराइमा धेरै गर्मी भएकाले विद्युत् खपत बढेको छ । यसले गर्दा धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या देखिएको छ ।’
त्यस्तै, उनले विद्युत् प्रसारण लाइन निर्माणलाई प्राथमिकता नदिने हो भने बिजुली आपूर्तिमा समस्या हुने बताए । घिसिङले भने, ‘बिजुली निर्यात गर्न, आन्तरिक उपभोग बढाउन र बिजुलीबाट आर्थिक लाभ लिन प्रसारण लाइनमा सुधार हुनै पर्छ । यसको सुधार गर्न सकिएन भने अर्बौँ लगानी जोखिममा पर्ने सम्भावना छ । समग्र राज्य र हामी सबैले आफ्नो आफ्नो तर्फबाट सहयोग गर्न आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस