aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

घोराही सिमेन्टको आईपीओ बिक्री अवधि थप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असार २०८०
घोराही सिमेन्टको आईपीओ बिक्री अवधि थप

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले जेठ ३२ गतेदेखि बिक्रीमा ल्याएको आईपीओ विक्री अवधि थप भएको छ । कम्पनीले असार १४ गतेसम्म आईपीओ विक्री गर्ने जानकारी दिएको हो । 

असार ३ गतेसम्म कम्पनीको आईपीओ खरीदका लागि ४ लाख ४५ हजार ८९० जनाले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट १ करोड ७२ लाख ५५ हजार २५० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा करिब साढे २ गुणा बढी आवेदन हुन आउछ ।

कम्पनीले प्रिमियम सहित प्रतिकित्ता रू. ४३५ मूल्यमा सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री खुला गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. ३०० थप गरी प्रतिकित्ता रू. ४०० मा र प्रतिकित्ता रू. १०० मा प्रिमियमबापत रू. ३३५ थप गरी प्रतिकित्ता रू. ४३५ मा आईपीओ विक्री गर्न बोर्डले अनुमति दिएको हो । कम्पनीले प्रिमियम मूल्यमा कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको थियो । 

कुल कित्तामध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीमा ६ लाख ६ हजार ३५० कित्ता, सामूहिक लगानी कोषहरूमा ३ लाख २८ हजार ९६१ कित्ता, कम्पनीका कर्मचारीहरूमा १९ हजार ५३० कित्ता र उद्योग प्रभावित क्षेत्रका बासिन्दामा ७७ हजार २९० कित्ता शेयर यस अघि बाँडफाँट गरिसकिएको छ । प्रिमियम मूल्यसहितको आईपीओ खरीदका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोष र कर्मचारीहरूबाट पूर्ण आवेदन भने पर्न सकेन । 

कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि ३ लाख ९७ हजार १९० कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५४ हजार ६६१ कित्ता,सामूहिक लगानी कोषका लागि ३ लाख ७७ हजार ३३१ कित्ता र कम्पनीका कर्मचारीहरूमा ३ लाख ७७ हजार ३३१ कित्ता विक्री खुला गरेको थियो । यसअघि वितरण हुन नसकेको शेयरसमेत थप गरी कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गरेको हो । 

सर्वसाधारणले आईपीओ खरीदका लागि न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिन तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन् । 

साथै मेरो शेयर अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपाल लिमिटेडले कम्पनीको वित्तीय दायित्व वहन गर्ने सुरक्षा क्षमताको मध्ययम आधारको संकेत गर्ने केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । 

यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस