aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आदिपुरुषका विवादीत संवाद संशोधन गरिने, लेखकलाई सुरक्षा थ्रेड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ असार २०८०
आदिपुरुषका विवादीत संवाद संशोधन गरिने, लेखकलाई सुरक्षा थ्रेड

एजेन्सी । विवादपछि विवादित संवादलाई लिएर बढ्दो विरोधलाई मध्यनजर गर्दै भारतीय चलचित्र ‘आदिपुरुष’ निर्माण पक्षले फिल्मको संवाद परिवर्तन गर्ने निर्णय गरेको हो । फिल्मका लेखक मनोज मुन्तासिरले आइतबार ट्विट गर्दै फिल्मका विवादित संवाद यसै साता हटाइने बताएका हुन ।

नेपालमा काठमाडौंपछि अब पोखरामा पनि आदिपुरुषलगायत हिन्दी चलचित्र नदेखाउने निर्णय भएको छ । चलचित्रमा सीतालाई भारतकी छोरीका रुपमा प्रस्तुत गरेकोमा नेपाली सेन्सर बोर्डले आपत्ति जनाएको छ । नेपाल सेन्सर बोर्डले सीताको जन्म भारतमा नभएर नेपालको जनकपुरमा भएको बताएको छ ।

नेपाल सेन्सर बोर्डको आपत्तिपछि चलचित्रमा सीताको जन्मस्थलको विवादास्पद भनाइ हटाइयो । त्यसपछि त्यहाँ फिल्म रिलिज गर्न अनुमति दिइएको थियो। तर, बाँकी संवादलाई लिएर फिल्म विवादमा रह्यो र अहिले प्रतिबन्ध लगाइएको छ ।

प्रभास र कृति सेनन अभिनित फिल्म ‘आदिपुरुष’ जहाँ एकातिर चर्को विवाद भइरहेको छ ।  अर्कोतिर यो फिल्मले बक्स अफिसमा दिनप्रतिदिन नयाँ रेकर्ड बनाइरहेको छ । पहिलो दिन विश्वभर १४० करोड र दोस्रो दिन १०० करोड कमाएपछि अब तेस्रो दिन यो फिल्मले फेरि १०० करोड कलेक्सन गरेको छ । योसँगै फिल्मले पहिलो साताको अन्त्यमा विश्वभर ३४० करोड कमाएर इतिहास रचेको छ ।

यसैबीच फिल्मका संवाद लेखक मनोज मुन्तासिरले मुम्बई प्रहरीसँग सुरक्षाको माग गरेपछि प्रहरीले उनलाई सुरक्षा दिने निर्णय गरेको हो । उनले विवादपछि आफू खतरामा रहेको बताएका छन् ।

छत्तीसगढको बिलासपुरमा आइतबार साँझ हिन्दुवादी संगठनले र्‍याली निकालेका छन् । नाराबाजी गर्दै मजदुरहरु म्याग्नेटो मल भित्र पसेका थिए । उनीहरुले प्रहरीको ब्यारिकेडिङ समेत तोडेका छन् । त्यसपछि हलको अगाडि बसेर हनुमान चालिसाको पाठ गर्न थाले । प्रहरीले उनीहरुलाई पक्राउ गरी हटाएको छ ।
भारतीय किसान युनियनले लखनउको हजरतगञ्ज कोतवालीमा निर्देशक ओम राउत र लेखक मनोज मुन्तासिरको पुत्ला जलाएको छ । सनातन धर्मको मजाक बनाउन यो फिल्म बनाइएको उनले बताए । भारतीय किसान युनियनका सदस्यहरू फिल्मका संवाद मात्रै परिवर्तन गरेर केही नहुने बताउँछन् । उनले यो फिल्मलाई पूर्ण प्रतिबन्ध लगाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस