
काठमाडौं । कुथेली बुखरी हाइड्रोपावर लिमिटेडको आईपीओ खरीदका लागि आयोजना प्रभावित स्थानीयले आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ १९ गतेदेखि आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
स्थानीयबाट छिटो अवधि असार १ गतेभित्र माग बमोजिम आवेदन नपरेपछि असार ५ गतेसम्म विक्री खुला गर्ने मिति तय गरिएको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने कम्पनीले असार १ गतेसम्म आईपीओ विक्री गरिएको छ । स्थानीयसँगै दोस्रो चरण सर्वसाधारणमा जारी हुने आईपीओको १० प्रतिशतले हुन आउने रू. १२ लाख १८ हजार ६०० बराबरको प्रतिशेयर रू. १०० अंकित मूल्यका १२ हजार १८६ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको हो ।
स्थानीयमा भने कम्पनीले जारी पूँजी रू. १२ करोड १८ लाख ६७ हजार ५०० को १० प्रतिशत शेयर विक्री खुला गरेको हो । प्रतिशेयर रू. १०० अंकित मूल्यमा रू. १ करोड २१ लाख ८६ हजार ८०० बराबरको १ लाख २१ हजार ८६८ कित्ता आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरिएको हो ।
दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं. ९ (साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु) तथा भिमेश्वर नगरपालिका वडा नं. १ (साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु) का स्थानीय बासिन्दाहरूले यो आईपीओ खरीदका लागि आवेदन दिन सक्नेछन् ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धककम एनएमबि क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यस कम्पनीले दोलखा जिल्लामा ९९८ किलोवाट क्षमताको सुष्पा बुखरी खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ साल असोज ३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल लागत रू. २४ करोड ७५ लाख ५७ हजार ३३१ रहेको छ भने प्रतिमेगावाट लागत रू. २४ करोड ८० लाख ५३ हजार ४३७ रहेको छ ।
प्रतिक्रिया दिनुहोस