
काठमाडौं । हुलास स्टिल–हिप्को सुपरबिल्ड स्टिल फ्याब्रिकेशन तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुल्ला भएको छ । नेपालको श्रम बजारको प्रमुख चुनौतीहरूलाई समाधान गर्न बेलायत सरकारद्वारा सहयोगार्थ रोजगारका लागि सीप कार्यक्रम अन्तरगत नेपालको लुम्बिनी र मधेस प्रदेशमा तालिम तथा रोजगार कार्यक्रमको लागि आवेदन फारम खुल्न भएको हो ।
यस कार्यक्रमले ४५ हजार नेपालीहरूको जीविकोपार्जन उन्नत बनाउने काम गर्दै आइरहेको छ । यो कार्यक्रमलाई दिवाकर गोल्छा कर्पोरेशन अन्तर्गत हुलास स्टिल उद्योग लिमिटेड र हिप्को सुपरबिल्डले संयुक्त रूपमा कार्यान्वयन गर्दै आइरहेको हो । नेपाल उद्योग परिसंघ र मेक ईन नेपाल (स्वदेशी) अभियानले साझेदारी गरेका छन् । यस कार्यक्रमले १ हजार ३४८ जनालाई श्रम बजारको माग अनुरूप तालिम र रोजगार दिन लागेको हो ।
यस तालिम सात दिनको अवधि भरि रहने छ । यो तालिम वीरगन्ज महानगरपालिका वडा नं ३१ बेलवा परसौनीस्थित हिप्को सुपरबिल्डको कारखानामा दिन लागिएको हो । यो तालिम विशेष गरी स्टिल÷फलामका श्रमिक, महिला, अति निम्न आय भएका व्यक्ति र विपन्न वर्गलाई लक्षित गरिएको छ । यस तालिममा नेपाली नागरिकता भएका र मधेस प्रदेश र लुम्बिनी प्रदेशमा स्थायी वा अस्थायी रूपमा बसोबास गरिरहेकाहरू सहभागी हुन सक्नेछन् । यो तालिम असार २०८० देखि कार्तिकसम्म लागु गरिनेछ । यस तालिमले निर्माण र निर्माण सामग्री उत्पादन गर्ने निजी क्षेत्रका कलकारखानाहरूलाई आफ्नो व्यवसायको माग अनुसारको दक्ष कामदार प्रदान गर्ने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस