
काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले असार ५ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत दरको १२ करोड ३१ लाख २५ हजार रूपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कम्पनीले कुल कित्ता आईपीओमध्ये ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूमा, ३६ हजार ९३८ कित्ता सामुहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीका लागि बाँडफाँट गरिसकेको छ । यी वाहेक बाँकी ६ लाख १३ हजार १६२ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आएको हो ।
यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएका कार्यालयसँगै मेरो शेयर अनलाईनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर रेटिङ्ग बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले खोटाङ जिल्लामा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ साल पुस २३ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल निर्माण लागत १ अर्ब ३९ करोड रूपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रूपैयाँ रहेको छ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ५ करोड २९ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ८५ रूपैयाँ ६५ पैसा छ ।
प्रतिक्रिया दिनुहोस