काठमाडौं । हिमस्टार ऊर्जा कम्पनी लिमिटेडले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा ११ लाख १९ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्ने भएको हो ।
उक्त कित्ता आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा जेठ ३१ गते निवेदन दर्ता गरेको छ । बोर्डले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि समेत उक्त कित्ता आईपीओ निष्कासनको लागि अनुमति मागेको जानकारी दिएको छ ।
कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव गत भदौ २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभामार्फत पारित गरेको थियो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ । सोलुखुम्बु जिल्लाको रावादोलु र ओखलढुङ्गाको गोली भएर बग्ने बुकु खोलाको पानी उपयोग गरी कम्पनीले ५ मेगावाट क्षमताको बुकु कपाती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि आवश्यक पुँजी जुटाउन कम्पनीले आईपीओ निष्कासन गर्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस