aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

जीवन बीमा कम्पनीको व्यवसाय बढ्यो, एक महिनामै उठाए १० अर्बबढी बीमाशुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असार २०८०
जीवन बीमा कम्पनीको व्यवसाय बढ्यो, एक महिनामै उठाए १० अर्बबढी बीमाशुल्क

काठमाडौं । चालु आर्थिक वर्षको एघार महिना अर्थात जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुले एक खर्ब रुपैयाँ भन्दाबढी बीमाशुल्क संकलन गरेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा बीमा कम्पनीहरुले एक करोड ४० लाख ६९ हजार ९३७ बीमालेख जारी गरी एक खर्ब २४ अर्ब ५४ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

उक्त बीमाशुल्क गत बैंशाख मसान्तसम्मको तुलनामा ९.१४ प्रतिशतले बढि हो । जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा एक खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका थिए । यसअवधिमा कम्पनीहरुले एक करोड ३८ लाख ८३ हजार ३५७ बीमालेख जारी गरेका थिए ।

चालु आवको जेठ महिनामा मात्रै बीमा कम्पनीहरुले १० अर्ब रुपैयाँ भन्दाबढीको व्यवसाय गरेको छन् । यस अवधिमा कम्पनीहरुले ८ लाख ४५ हजार ३६२ बीमालेख जारी गरी १० अर्ब ४३ करोड ४० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन् ।

बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार गत जेठ मसान्तसम्म सबैभन्दाबढि नेपाल लाइफ इन्स्यारेन्सले बीमाशुल्क संकलन गरेको छ । उक्त कम्पनीले यस अवधिमा १० लाख ६६ हजार ९३५ वटा बीमालेख बिक्री गरी ३२ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

त्यस्तै, यस अवधिमा राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ८६ करोड ६४ लाख, नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ७ करोड ४ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १५ अर्ब ४८ करोड ५१ लाख, मेट लाइफ इन्स्यारेन्सले चार अर्ब ७७ करोड २९ लाख र एशियन लाइफ इन्स्योरेन्सले ६ अर्ब ११ करोड १५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्राधिकरणका अनुसार आइएमई लाइफ इन्स्योरेन्सले पनि चालु आवको जेठ मसान्तसम्म तीन अर्ब ५६ करोड १६ लाख रुपैयाँ बीमा शुल्क उठाएको छ । जुन तीन लाख ४ हजार १०० वटा बीमालेख बिक्री गरेर आर्जन भएको हो । त्यसैगरी, सन नेपाल लाइफ इन्स्यारेन्सले तीन अर्ब ४२ करोड ३० लाख रुपैयाँ र रिलायबल नेपाल लाइफले तीन अर्ब २८ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी यस अवधिमा सिटिजन लाइफ इन्स्यारेन्सले चार अर्ब ८३ करोड ९४ लाख रुपेयाँ बीमाशुल्क उठाएको छ भने प्रभु लाइफ इन्स्योरेन्सले एक अर्ब ८४ करोड १२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, सानिमा रिलायन्स लाइफले ४ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

त्यस्तै, चालु आवको जेठ मसान्तसम्म सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८ लाख ४४ हजार १८१ बीमालेख जारी गरी ७ अर्ब ४९ करोड ४३ लाख, हिमालयन लाइफले १३ अर्ब १२ करोड ९४ लाख र महालक्ष्मी लाइफ इन्स्योरेन्सले सबैभन्दा कम एक अर्ब ४२ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस