aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बुधवारसम्म मात्र बिक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ असार २०८०
अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बुधवारसम्म मात्र बिक्रीमा रहने

काठमाडौं । असार १० गतेदेखि सर्वसाधारणमा निष्कासन गरिएको अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ असार १३ गते बुधवारसम्म मात्र विक्रीमा रहनेछ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र विक्री खुला हुने भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) ले दिएको जानकारी अनुसार असार १२ गते साझसम्म कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा १८ दशमलव ४३ गुणा बढी आवेदन परेको छ । सिडिएससीले ९ लाख ६ हजार १०६ जना आवेदकहरूबाट ९९ लाख ४५ हजार ६६० कित्ता शेयर खरीद माग भएको जानकारी दिएको हो ।

कम्पनीले सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याएको हो । यस अघि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँटपछि सर्वसाधारणमा विक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ गतेदेखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ गतेदेखि १६ गतेसम्म आईपीओ विक्री गरी जेठ ३० गते बाँडफाँट गरेको थियो ।

जारी पूँजी २२ करोडको १० प्रतिशतले हुन आउने २ लाख २० हजार कित्ता आईपीओ स्थानीयमा बाँडफाँट गरिएको हो भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यमै विक्री गरिएको हो ।

दोस्रो चरणका विक्री गरिने शेयरमध्ये ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा समेत बाँडफाँट गरिएको कम्पनीको भनाई छ । यी वाहेक १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

कम्पनीले लमजुङ जिल्लाको ताघ्रिङ गाउविकास समितिमा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट २०७८ साल फागुन १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो । यस आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रूपैयाँ रहेको छ । 

हाल संस्थापक तर्फबाट चुक्तापूँजी १३ करोड ३० लाख रूपैयाँ रहेको छ । सर्वसाधारणमा समेत आईपीओ जारी पछि कम्पनीको चुक्तापूँजी २२ करोड रूपैयाँ कायम हुनेछ । कम्पनीले निर्माण गरेको आयोजनाबाट विद्युत उत्पादन सुरु गरेको एक वर्ष वितिसकेको छ ।तर कम्पनी अझै नोक्सानीमा रहेको छ ।

आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी २ करोड ५ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । वास्तविक प्रतिशेयर नेटवर्थ ८४ रूपैयाँ ५४ पैसा रहेको कम्पनी १४ रूपैयाँ ६३ पैसा प्रतिशेयर नोक्सानीमा छ ।

चालू आर्थिक वर्ष ०७९/८० सम्म कम्पनीको सञ्चित नोक्सानी ८५ लाख ७२ हजार रूपैयाँमा झार्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्ष ०८०/८१ सम्म भने कम्पनीले ६१ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस