
काठमाडौं । अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले असार २२ गते एक दिन बुुक क्लोज गर्ने निर्णय गरेको हो । बुक क्लोजको आधारमा असार २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।
गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेश गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन् ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड ६५ लाखभन्दा बढी पुग्नेछ ।
कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस