aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

२०० प्रतिशत हकप्रद निष्कासनका लागि घलेम्दी हाइड्रोले पायो नियमन आयोगको अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ असार २०८०
२०० प्रतिशत हकप्रद निष्कासनका लागि घलेम्दी हाइड्रोले पायो नियमन आयोगको अनुमति

काठमाडौं । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडको २०० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीलाई उक्त हकप्रद विक्रीका लागि आयोगले असार १३ गते स्वीकृति प्रदामन गरेको हो ।

कम्पनीको वैशाख १६ गते सम्पन्न नवौं वार्षिक साधारण सभाले १ बराबर २ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । विद्युत नियमन आयोगको स्वीकृतिसँगै कम्पनीलाई हकप्रद निष्कासन प्रक्रिया अघि बढाउने बाटो खुला भएको छ । अब कम्पनीले हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग्नेछ । बोर्डको स्वीकृति पछि मात्र कम्पनीको हकप्रद शेयर विक्रीमा आउनेछ । 

हकप्रद शेयर विक्रीबाट संकलित पूँजी सांग्रिला उर्जा लिमिटेडद्वारा प्रवद्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङ्ग खोला जलविद्युत आयेजनामा ५१ प्रतिशत भन्दा बढी शेयरमा लगानी गर्ने योजना कम्पनीको छ । हाल रू. ५५ करोड चुक्तापूँजी रहेको कम्पनीको हकप्रद पछि यो पूँजी रू. १ अर्ब ६५ करोड पुग्नेछ ।

हकप्रद विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिसकेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म यो कम्पनीको जगेडा कोष रकम रू. ११ करोड ११ लाखभन्दा बढी ऋणात्मक रहेको छ ।

यस अवधिसम्म कम्पनीको दिर्घकालिन कर्जा रू. ८६ करोड ८९ लाखभन्दा बढी र अल्कालिन कर्जा रू. ८ करोड ६९ लाखभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ करोड ५५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस