aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओमा मागभन्दा करिब २६ गुणा बढी आवेदन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ असार २०८०
अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओमा मागभन्दा करिब २६ गुणा बढी आवेदन

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म १२ लाख ८२ हजार ४६३ जनाको आवेदन परेको छ । कम्पनीले असार १० गतेदेखि १३ गतसम्म सर्वसाधारणमा ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ विक्री खुला गरेको थियो ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार अन्तिम दिनसम्म १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयर खरीद माग भएको हो । जुन मागभन्दा २५ दशमलव ८८ गुणा बढी आवेदन हुन आउछ । कम्पनीको आईपीओ १० कित्ताका दरले ५३ हजार ९५० जनाले मात्र हात पार्नेछन् । यस आधारमा १२ लाख २८ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।

यस अघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ गतेदेखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ गतेदेखि १६ गतेसम्म आईपीओ विक्री गरी जेठ ३० गते बाँडफाँट गरेको हो ।

जारी पूँजी रू. २२ करोडको १० प्रतिशतले हुन आउने २ लाख २० हजार कित्ता आईपीओ स्थानीयमा र वैदेशिक रोजगारीमा रहेका नेपालीमा भने दोस्रो चरणमा विक्री गरिने कुल कित्ता शेयरमध्ये १० प्रतिशतले हुन आउने ६५ हजार कित्ता बाँडफाँट गरेको हो । कम्पनीको आईपीओ प्रतिशेयर रू. १०० अंकित मूल्यमै विक्री गरिएको हो ।

कम्पनीको कुल कित्ता आईपीओमध्ये ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूमा बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले लमजुङ जिल्लाको ताघ्रिङ गाउविकास समितिमा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरिसकेको छ । उक्त आयोजनाबाट २०७८ साल फागुन १५ गतेदेखि व्यापारिक उत्पादन सुरु भएको हो । यस आयोजनाको कुल अनुमानित लागत ५० करोड ४८ लाख रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ३ लाख रूपैयाँ रहेको छ ।

हाल संस्थापक तर्फबाट चुक्तापूँजी रू. १३ करोड ३० लाख रहेको छ । सर्वसाधारणमा समेत आईपीओ जारी पछि कम्पनीको चुक्तापूँजी रू. २२ करोड कायम हुनेछ । आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी रू. २ करोड ५ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।

वास्तविक प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ५४ रहेको कम्पनी रू. १४ दशमलव ६३ प्रतिशेयर नोक्सानीमा छ । चालू आर्थिक वर्ष ०७९/८० सम्म कम्पनीको सञ्चित नोक्सानी रू. ८५ लाख ७२ हजारमा झार्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्ष ०८०/८१ सम्म भने कम्पनीले रू. ६१ लाखभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस