aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मल, जल र बिउको अभावले बढ्न सकेन धान उत्पादन, यस्तो छ दश वर्षको तथ्यांक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १५ असार २०८०
मल, जल र बिउको अभावले बढ्न सकेन धान उत्पादन, यस्तो छ दश वर्षको तथ्यांक

काठमाडौं । आज असार १५ अर्थत धान दिवस । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । राष्ट्रिय तथ्यांक कार्यालयले गत चैतमा सार्वजनिक गरेको तथ्यांकअनुसार १० वर्षभन्दा माथिका आधा अर्थात् ५० दशमलव १ प्रतिशत जनता कृषि पेसामा आश्रित छन् ।    

जसमध्ये धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ । जन्मेदेखि मृत्युसम्मको कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर हिन्दु संस्कृतिको धरोहर पनि हो ।

कृषि विभागका अनुसार समुन्द्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थानमा जुम्लाको छुमचौरमा तीन हजार ५० मिटर उचाइसम्म धानको खेती गरिन्छ । मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा करिब २४ दशमलव एक प्रतिशत कृषिको योगदान रहेकामा कृषि क्षेत्रका ग्राहस्थ्य उत्पादनमा धानको १५ प्रतिशत योगदान रहेको छ । यस तथ्यले पोषण सुरक्षामा धानको उल्लेखनीय महत्व दर्शाउँछ । 

राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनसमेत धानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ । जलवायुमैत्री कृषि प्रविधिले जलवायु परिवर्तनका प्रभावसँग अनुकूलन गरी हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्ने, धान उत्पादनमा वृद्धि गर्ने तथा खाद्य सुरक्षालाई सुनिश्चित गर्दछ । जलवायु अनुकूलन भन्नाले बदलिँदो वातावरणसँग मिल्दो हुने गरी प्रविधि विकास गर्ने भन्ने बुझिन्छ ।
  
यस्तो छ दश वर्षको उत्पादनको अवस्था  
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन हेर्ने हो भने चालू आर्थिक वर्ष आव २०७९/८० मा १४ लाख ४७ हजार हेक्टर क्षेत्रफलमा धानखेती भई ५४ लाख ८६ हजार मेट्रिक टन धान उत्पादन भएको छ । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल शून्य दशमलव १९ प्रतिशतले घटेको भए पनि उत्पादन भने छ दशमलव नौ प्रतिशतले वृद्धि भएको छ ।  

आव २०७०/७१ मा १४ लाख ८७ हजार हेक्टर क्षेत्रफलमा धानखेती भई ५० लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर, आव २०७१/७२ मा भने धान खेती घटेको थियो । यस वर्ष १४ लाख २६ हजार हेक्टर क्षेत्रफलमा धानखेती भई ४७ लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

त्यस्तै, आव २०७२/७३ मा १३ लाख ६३ हजार हेक्टर क्षेत्रफलमा ४२ लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको थियो भने आव २०७३/७४ मा १५ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, आव २०७४/७५ मा १४ लाख ६९ हजार हेक्टर क्षेत्रफलमा ५१ लाख ५२ हजार मेट्रिक टन र आव २०७५/७६ मा १४ लाख ९२ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । 

त्यसैगरि, आव २०७६/७७ मा १४ लाख ५९ हजार हेक्टर क्षेत्रफलमा ५५ लाख ५१ हजार मेट्रिक टन धान उतपादन भएको थियो । आव २०७७/७८ मा धान यस्तो उत्पादन बढेको थियो । यस आवमा १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २२ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । तर, आव २०७८/७९ मा धान उत्पादन घटेको थियो । यो आवमा १४ लाख ७७ हजार हेक्टर क्षेत्रफलमा ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको तथ्यांकमा उल्लेख छ ।  

मल, जल र बिउको अभावले बढ्न सकेन उत्पादन 
विगत दश वर्षमा समग्र देशको धानबाली उत्पादनको तथ्यांक विश्लेषण गर्दा समग्रमा धान बालीको उत्पादकत्वमा सामान्य वृद्धि भएको देखिन्छ । सिंचाइको लागि आकासे पानीमा भरपर्नु तथा आधुनिक कृषि खेती तथा उन्नत बिउको प्रयोगमा उल्लेख्य वृद्धि नहुनुले बालीको उत्पादकत्व उल्लेख्य रुपमा वृद्धि हुन सकेको छैन । 

धान उत्पादन उल्लेख्यमात्रामा बढ्न नसकेको बताउँदै धानविज्ञ सुशिलराज सुवेदी भन्छन्, ‘ १९९० को स्थिति र अहिलेका स्थिती हेर्ने हो भने खासै उत्पादन बढेको देखिदैन । धान उत्पादन हने जग्गा पनि उस्तै नै छ भनिरहेकका छौं । त्यसमा घरहरु पनि थपिएका छन् । खेतीयोग्य जमिन मासिदै गएको छ । यसलाई पनि हेरेर भन्ने हो भने खेतियोग्य जमिन मासिदै गएका कारण पनि धान खेती बढ्न नसकेको हो ।’ 

यसमा साथै मल जल र बिउ आपूर्तिमा राम्रो नभएका कारण पनि धान उत्पादन घटेको उनको भनाई छ । सुवेदी भन्छन्, ‘हाम्रोमा मल, जल र बिउको आपूर्ति राम्रो छैन । यसले गर्दा पनि उत्पादनमा ह्रास आएको हो । यसको आपूर्ति राम्रो गर्ने हो भने धान उत्पादन बढ्छ ।’ 

नेपाल कृषि अनुसन्धान परिषद्का अनुसार नेपालमा विभिन्न जातका धान खेती गरिन्छ । धानको वर्गिकरण छुट्टाछुट्टै तरिकाले गर्ने गरिन्छ । मौसमका आधारमा चैते, बर्षे, भदैया, घैया, हिउँदे धानको खेती हुन्छ । कुन कस्तो जग्गामा खेती गर्न उपयुक्त हुन्छ भनेर त्यहि अनुसारको धानको वर्गिकरण गरेर खेती गर्ने गरिन्छ ।   
 

प्रतिक्रिया दिनुहोस