
काठमाडौं । पछिल्लो समय सार्वजनिक निष्कासनमा जलविद्युत कम्पनीहरूको वर्चस्व देखिएको छ । साधारण शेयर (आईपीओ) सँगै हकप्रद शेयर निष्कासनमा समेत जलविद्युत कम्पनीहरू अग्र स्थानमै पर्छन् । निरन्तर रूपमा जलविद्युत कम्पनीको आईपीओ आइरहँदा हकप्रद शेयर निष्कासनका लागि आवेदन दिने र अनुमति पाउनेहरूमा पनि जलविद्युत कम्पनीकै वर्चस्व देखिएको हो ।
जलविद्युत कम्पनीहरूले ऋण तिर्नका लागि हकप्रद शेयर निष्कासन गर्न सक्ने व्यवस्था लागू भएसँगै धेरै जसो जलविद्युत कम्पनी हकप्रद निष्कासनको तयारीमा जुटेका छन् । विद्युत् नियमन आयोगका अनुसार चालू आर्थिक वर्षको साउनदेखि वैशाख मसान्तसम्म २५ वटा कम्पनीहरुले प्राथमिक तथा हकप्रद शेयर निष्कासनको पूर्व स्वीकृति पाएका छन् ।
हकप्रद निष्कासनको लागि आयोगबाट स्वीकृति पाएपछि जलविद्युत कम्पनीहरुले नेपाल धितोपत्र बोर्डमा निवेदन दिनु पर्छ । बोर्डबाट पनि स्वीकृति पाएपछि उनीहरूले हकप्रद निष्कासनका लागि घोषणा गर्छन् । केही वर्षअघि धितोपत्र बजारमा बैंक तथा वित्तीय संस्थाको हकप्रद शेयरको बाहुल्यता रहेकोमा पछिल्ला वर्षहरूमा जलविद्युत कम्पनीहरूको बाहुल्यता देखिन्छ ।
पछिल्लो तथ्याङ्क अनुसार छयाङ्दी हाइड्रोपावरले १५० प्रतिशत हकप्रद जारी गर्ने तयारीमा रहेको छ भने हिमालयन ऊर्जा विकास कम्पनीले २०० प्रतिशत हकप्रद निष्कासन गर्दैछ । यसका साथै लिबर्टी इनर्जी कम्पनीले ५० प्रतिशत, रिडी पावर कम्पनीले ५० प्रतिशत, बलेफी हाइड्रोपावरले ५० प्रतिशत र अपि पावरले ४० प्रतिशत हकप्रद निष्कासनका लागि घोषणा गरेका हुन् ।
चालु आर्थिक वर्षमा मात्रै हकप्रद जारी गर्न ६ वटा हाइड्रोपावर कम्पनीलाई विद्युत् नियमन आयोगले अनुमति दिएको थियो । आयोगका अनुसार यस अवधिमा हकप्रदका लागि आवेदन दिएका कम्पनीहरूमा अरुण काबेली पावर लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेशनल हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, अपर तामाकोसी हाइड्रोपावर र अपि पावर कम्पनी रहेका छन् ।
उक्त कम्पनीहरुले आयोगको अनुमति पश्चात् नेपाल धितोपत्र बोर्डबाट पनि अनुमति पाएर हकप्रद शेयर जारी गरिसकेका छन् भने केही कम्पनीहरू बोर्डको स्वीकृतिको पर्खाइमा रहेका छन् ।
कुनको कति ?
अरुण काबेली पावर
अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । २०७८ साल कात्तिक २८ गते हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन दिएको कम्पनीले डेढ वर्षपछि असार १३ गते अनुमति पाएको हो ।
कम्पनीको आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर पश्चात् कायम चुक्तापूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० को आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७१ करोडभन्दा बढी कायम हुनेछ ।
कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्लाबिच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।
हिमाल दोलखा हाइड्रोपावर
हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ७५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न वैशाख १२ गते अनुमति प्रदान गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६० करोड रहेको छ । बोर्डको अनुमति पाएसँगै कम्पनीको हकप्रद शेयर विक्री पछि चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले यो हकप्रद विक्रीका लागि अनुमति माग्दै गत पुस २६ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति पाएको हो ।
अपि पावर
काठमाडौं । अपि पावर कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । गत चैत ६ गते हकप्रद शेयर निष्कासनका लागि बोर्डमा निवेदन पेस गरेको कम्पनीले असार ६ गते बोर्डबाट अनुमति पाएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले ४० प्रतिशत दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पुँजी रू. ५ अर्ब ७८ करोड ६५ लाखभन्दा बढी पुग्नेछ ।
कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पुँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
अपर तामाकोसी हाइड्रोपावर
अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि विद्युत् नियमन आयोगले स्वीकृति प्रदान गरेको छ । आयोगको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले अपर तामाकोशीलाई शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिने निर्णय गरेको हो ।
कम्पनीको भदौ ३ गते शुक्रवार सम्पन्न १४औँ वार्षिक साधारण सभाले समेत शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरिसकेको अवस्थामा अब नेपाल धितोपत्र बोर्डसँग अनुमतिको प्रक्रिया अघि बढ्नेछ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पुँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ ।
जलविद्युत कम्पनीहरूलाई कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरे पनि यस कम्पनीले भने हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत आयोजनाहरू रोल्वालिङ खोला जलविद्युत र तामाकोसी–५ जलविद्युत आयोजना निर्माणमा लगानी हुने जानकारी कम्पनीले दिएको छ ।
नेशनल हाइड्रोपावर
नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले ५० प्रतिशत हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सुनकोशी हाइड्रो पावर कम्पनी लिको प्राप्ति पश्चात कायम हुन आउने चुक्ता पूजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
कम्पनीको कात्तिक २२ गते दिएको आवेदनमा ८२ करोड २१ लाख ४५ हजार ९ सय ७१ रुपैयाँ ७८ पैसा बराबरको ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद शेयर निष्काशनको लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
कम्पनीले हकप्रदशेयर निष्कासन प्रयोजनको लागिअसार १ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर डबल बी प्लस रेटिङ प्रदान गरेको छ।
कम्पनीले जारी गर्न लागेको हकप्रदबाट प्राप्त हुने रकम तीन प्रमुख आयोजनामा लगानी गर्ने जनाइएको छ। उक्त रकम १४.१५ मेगावाटको लोअर इर्खुवा हाइड्रोमा १२.२७ करोड रुपैयाँ, ४.५ मेवाको तल्लो इन्द्रावतीमा ५६.१७ करोड रुपैयाँ र ७.५ को इन्द्रावती तेस्रोमा १३.७७ करोड लगानी गर्ने कम्पनीले जनाएको छ।
के छ व्यवस्था ?
विद्युत् नियमन आयोगका अनुसार हाइड्रोपावर कम्पनीहरुले प्राथमिक वा हकप्रद निष्कासन गर्नुपुर्व आयोग मार्फत दुई पटक स्वीकृति लिनुपर्ने हुन्छ । जसमा पूर्व स्वीकृति र अन्तिम स्वीकृत पर्दछ । त्यसभन्दा पहिले सञ्चालक समितिले हकप्रद निष्कासन गर्ने निर्णय गर्छन् भने कम्पनीहरुले उक्त निर्णय सहित आयोगमा निवेदन दिनु पर्छ ।
आयोगले स्वीकृति दिएपछि कम्पनीले आफ्नो साधारण सभामा उक्त विषय लैजानु पर्छ । साधारण सभाले पारित गरेपछि अन्तिम स्वीकृतिको लागि आयोग समक्ष जानु पर्छ । आयोगले अन्तिम स्वीकृति दिएपछि मात्रै कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिन पाउँछन् ।
आयोगका अनुसार पछिल्लो समय आठ कम्पनीहरुले हकप्रद निष्कासनका लागि आयोगबाट अन्तिम स्वीकृति पाएका छन् । जसमा अरुण काबेली, जोशी हाइड्रो पावर, नेशनल हाइड्रो पावर, हिमाल दोलखा, अपर तामाकोसी, अपि पावर कम्पनी, छ्याङ्दि हाइड्रो र घलेम्दी छन् । यसमध्ये केहीले निष्कासन गरिसके भने केही निष्कासनको प्रक्रियामा छन् ।
प्रतिक्रिया दिनुहोस