
काठमाडौं । नागरिक लगानी कोषले प्रस्ताव गरेको कुल २६ दशमलव ३२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले असार ३१ गते २८औं वार्षिक साधारण सभा बोलाएको छ । सभा कोषको केन्द्रिय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा अपरान्ह ३ बजे हुनेछ । उक्त सभा प्रयोजनका लागि कोषले असार १९ गते एक दिन बुक क्लोज गर्ने मिति यस अघिनै तय गरिसकेको छ ।
बुक क्लोजको आधारमा असार १८ गतेसम्म कायम शेयरधनीहरूले मात्र कोषको लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् । हाल कोषको चुक्तापूँजी रू. ४ अर्ब २५ करोड १० लाख रहेको छ । यस वर्ष कोषले गत वर्षभन्दा कम लाभांश वितरण गर्न लागेको हो । अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष कोषले रू. ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस