aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

हकप्रद निष्कासनका लागि अरुण काबेली पावरले तोक्यो बुक क्लोजको मिति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १८ असार २०८०
हकप्रद निष्कासनका लागि अरुण काबेली पावरले तोक्यो बुक क्लोजको मिति

काठमाडौं । अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि असार २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । कम्पनीले २०७८ साल कात्तिक २८ गते हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा यो असार १३ गते अनुमति पाएको हो ।

हकप्रद निष्कासनको मिति भने तय हुन बाँकी रहेको छ । कम्पनीले तय गरेको बुक क्लोजको मितिको आधारमा असार २४ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् । कम्पनीको आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

उक्त बोनस शेयर पश्चात् कायम चुक्तापूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० को आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७१ करोडभन्दा बढी कायम हुनेछ ।

कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस