aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट, दुई हजार आठ सय आवेदन रद्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असार २०८०
थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँट, दुई हजार आठ सय आवेदन रद्द

काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडले सर्वसाधारणमा बिक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले मंगलवार विहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । मागभन्दा बढी आवेदन परेको यस कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट भएको हो । 

विक्री प्रबन्धका अनुसार ६१ हजार ३१६ जना योग्य आवेदकहरूमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । यी मध्ये दुई जना आवेदकहरूले थप एक कित्ताका दरले आवेदन प्राप्त गरेका छन् । यस आधारमा कम्पनीको आईपीओ ११ कित्तासम्म बाँडफाँट गरिएको हो ।

कम्पनीको आईपीओ खरिदका लागि १० लाख २४ हजार ४६ जनाको आवेदन परेको थियो । कुल आवेदकहरूमध्ये २ हजार ८४८ जनाको आवेदन भने रितपूर्वक नभएकाले रद्द गरिएको बिक्री प्रबन्धकको भनाई छ ।

योग्य १० लाख २१ हजार १९८ जना आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराईएको थियो । कम्पनीले असार ५ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि सर्वसाधारणका लागि ६ लाख १३ हजार १६२ कित्ता आईपीओ विक्री खुला गरेको हो । 

कम्पनीले जारी पूँजी ४९ करोड २५ लाख रूपैयाँको २५ प्रतिशत दरले हुन आउने १२ लाख ३१ हजार २५० कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा ७३ हजार ८७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दामा, ३६ हजार ९३८ कित्ता सामूहिक लगानी कोषमा र १४ हजार ७७५ कित्ता आईपीओ कर्मचारीमा बाँडफाँट गरिसकेको छ । 

कम्पनीले खोटाङ जिल्लामा ६ दशमलव ६ मेगावाट क्षमताको साप्सुप खोला साना जलविद्युत आयोजनको निर्माण कार्य सम्पन्न गरिसकेको छ । २०७८ साल पुस २३ गतेदेखि उक्त आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिएको हो । यस आयोजनको अनुमानि कुल लागत १ अर्ब ३९ करोड रूपैयाँ र प्रतिमेगावाट लागत २१ करोड ६ लाख रूपैयाँ छ । 
 

प्रतिक्रिया दिनुहोस