काठमाडौं । हाल देशभर १० वटा सरकारी उद्योगहरु छन् । जसमध्ये आठवटा घाटामा छन् भने दुईटा मात्र नाफामा छन् । नाफामा रहेका दुई संस्थानहरूमा जनकपुर चुरोट कारखाना लिमिटेड र उदयपुर सिमेन्ट उद्योग रहेका छन् ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ मा सार्वजनिक संस्थानहरूको वित्तीय अवस्था बारेको प्रतिवेदनमा यस्तो देखिएको हो । नाफामा गएका दुई वटा मध्ये पनि जनकपुर चुरोट कारखाना लिमिटेड सञ्चालनमा नरहेको भएता पनि भवन तथा जग्गा भाडा आम्दानीका कारण नाफामा देखिएको हो ।
सरकारले सार्वजनिक संस्थानको कारोबारको प्रकृतिबमोजिम औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी तथा वित्तीय गरी छ वटा क्षेत्रमा विभाजन गरेको छ । औद्योगिक क्षेत्रमा दश वटा सार्वजनिक संस्थान रहेका छन् ।
यस क्षेत्रका संस्थानको कुल सञ्चालन आय आर्थिक वर्ष २०७७/७८ मा ६ अर्ब ३४ करोड ४५ लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा १.२४ प्रतिशतले वृद्धि भई ६ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुगेको देखिएको छ ।
दुग्ध विकास संस्थान, नेपाल औषधी लिमिटेड र उदयपुर सिमेन्ट उद्योगको आर्थिक वर्ष २०७७/७८ को तुलनामा ०७८/०७९ मा क्रमशः ३.४२, ५.०६ र १४.४१ प्रतिशतले सञ्चालन आयमा वृद्धि भएकोले समग्र औद्योगिक क्षेत्रका संस्थानको सञ्चालन आयमा वृद्धि भएको हो ।
जनकपुर चुरोट कारखाना लिमिटेड, नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि, बुटवल धागो कारखाना लि., नेपाल मेटल कम्पनी लिमिटेड र धौवादी फलाम कम्पनी लिमिटेड सञ्चालनमा रहेका छैनन् ।
आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रका संस्थानको कुल प्रशासनिक खर्च (कर्मचारी खर्च समेत) ६५ करोड ४१ लाख रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा ७.४४ प्रतिशतले वृद्धि भई ७० करोड २८ लाख रुपैयाँ पुगेको छ । सञ्चालनमा रहेका संस्थानमध्ये हेटौँडा सिमेन्ट उद्योगको प्रशासनिक खर्च आर्थिक वर्ष २०७७/७८ को तुलनामा समीक्षा अवधिमा ८.६४ प्रतिशतले कमी आएको छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा यस क्षेत्रको समग्र खुद नोक्सानी ९४ करोड ९६ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिमा १८.९७ प्रतिशतले कमी भई ७६ करोड ९४ लाख कायम भएको छ । अघिल्लो वर्ष नाफामा रहेको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड समीक्षा वर्ष १ करोड ६७ लाख रुपैयाँ नोक्सानीमा छ भने अघिल्लो वर्ष नोक्सानीमा रहेको उदयपुर सिमेन्ट उद्योग यस वर्ष ४ करोड ९३ लाख रुपैयाँ नाफामा छ ।
यस आर्थिक वर्षमा जनकपुर चुरोट कारखाना लिमिटेड सञ्चालनमा नभएको भएता पनि भवन तथा जग्गा भाडा आम्दानीका कारण नाफामा रहेको छ । बाँकी अन्य सबै संस्थान नोक्सानीमा रहेका कारण समग्र औद्योगिक क्षेत्र नोक्सानमा देखिएको हो । यस क्षेत्रका संस्थानको कुल सञ्चित नोक्सानी आर्थिक वर्ष २०७७/७८ मा १८ अर्ब २ करोड ६३ लाख रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा कुल सञ्चित नोक्सानी ५.१७ प्रतिशतले वृद्धि भई १८ अर्ब ९५ करोड ८२ लाख हुन पुगेको छ ।
औद्योगिक क्षेत्रका संस्थानको शेयरधनीकोष आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब ३३ करोड ४१ लाख ऋणात्मक रहेकोमा यो रकम आर्थिक वर्ष २०७८/७९ मा २२.९७ प्रतिशतले वृद्धि भई ४ अर्ब ०९ करोड ९९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । समीक्षा अवधिमा यस क्षेत्रका संस्थानको औसत डेन्ट इक्विटी अनुपात २५३.६६ प्रतिशत ऋणात्मक रहेको छ ।
यस क्षेत्रका संस्थानमा आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९ सय ४३ कर्मचारी कार्यरत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा १०.६५ प्रतिशतले वृद्धि भई कर्मचारी सङ्ख्या २ हजार १ सय ५० पुगी प्रति कर्मचारी उत्पादकत्व घट्न गई २९ लाख ८७ हजार (सञ्चालन आयमा) रहेको देखिन्छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको अभिलेखअनुसार यस क्षेत्रका संस्थानले आर्थिक वर्ष २०७७/७८ सम्म नेपाल सरकारलाई तिर्न बाँकी ऋण ८ अर्ब ३६ करोड ८७ लाख रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा सो रकममा १.७९ प्रतिशतले वृद्धि भई ८ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७८/७९ मा दुग्ध विकास संस्थानमा थप १५ करोड रुपैयाँ ऋण लगानी भएको छ ।
आर्थिक वर्ष २०७७/७८ सम्ममा यस क्षेत्रका संस्थानमा नेपाल सरकारको शेयर लगानी ६ अर्ब २५ करोड ३५ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिको अन्त्यमा कुनै परिवर्तन नभई ६ अर्ब २५ करोड ३५ लाख रुपैयाँ कायम भएको छ । आर्थिक वर्ष २०७७/०७८ सम्म कोषमा व्यवस्था नभएको तथा सम्भावित दायित्व ३ अर्ब ६८ करोड ५ लाख रहेकोमा आर्थिक वर्ष २०७८/०७९ मा १२.०८ प्रतिशतले वृद्धि भई ४ अर्ब १२ करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
कुन संस्थान कति घाटामा
अर्थ मन्त्रालयले प्रकाशित गरेको सार्वजनिक संस्थानहरूको वार्षिक समीक्षा अनुसार यस अवधिमा दुग्ध विकास संस्थान ३७ करोड ४ लाख ६७ हजार रुपैयाँ घाटमा रहेको छ । संस्थानको सञ्चालन आय रकम ३ अर्ब ८७ करोड ३० लाख ५७ हजार रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च २४ करोड ७९ लाख ३१ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी एक करोड ६६ लाख ८८ हजार रुपैयाँ घाटामा रहेको छ । उक्त संस्थानको प्रशासनिक खर्च ५ करोड १२ लाख ६८ हजार रुपैयाँ रहेको छ भने सञ्चालन आय १६ करोड १२ लाख ४९ हजार रुपैयाँ रहेको छ ।
मन्त्रालयका अनुसार सञ्चालन आय रकम एक अर्ब २ करोड ३९ लाख ८४ हजार रुपैयाँ रहेको हेटौँडा सिमेन्ट उद्योग ११ करोड १४ लाख ६४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । यसको प्रशासनिक खर्च १२ करोड ५६ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, जनकपुर चुरोट कारखाना लिमिटेड २५ लाख ४२ हजार रुपैयाँ नाफामा रहेको छ । उक्त संस्थानको प्रशासनिक खर्च ४० लाख ८४ हजार रुपैयाँ रहेको छ । मन्त्रालयका अनुसार नेपाल औषधि लिमिटेड १३ करोड ८६ लाख ५१ हजार रुपैयाँ घाटामा रहेको छ । उक्त संस्थानको प्रशासनिक खर्च ५ करोड ५२ लाख २२ हजार रुपैयाँ रहेको छ ।
त्यसैगरी, उदयपुर सिमेन्ट उद्योग ४ करोड ९२ लाख ५८ करोड रुपैयाँ नाफामा रहेको छ । उद्योगको प्रशासनिक खर्च १९ करोड ८१ लाख ९६ हजार रुपैयाँ रहेको छ भने सञ्चालन आय एक अर्ब ३१ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
मन्त्रालयका अनुसार नोक्सानीमा रहेका अन्य संस्थानहरूमा नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि १४ करोड २८ लाख ८७ हजार रुपैयाँ नोक्सानीमा छ । त्यस्तै, बुटवल धागो कारखाना ३ करोड ४६ लाख ७९ हजार, नेपाल मेटल कम्पनी ३५ लाख रुपैयाँ र धौवादी फलाम कम्पनी २८ लाख रुपैयाँ नोक्सानीमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस