
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडेले सर्वसाधारणलाई निष्कासन गरेको आइपीओ असार २२ अर्थात भोलि शुक्रवार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आईपीओ असार २२ गते बिहान ९ बजे बिक्री प्रबन्धकको कार्यालय नारायणचौर नक्सालमा बाँडफाँट गर्ने भएको हो ।
कम्पनीले असार १० गतेदेखि १३ गते सम्म ५ लाख ३९ हजार ५ सय कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो । उक्त आईपीओमा अन्तिम दिनसम्ममा १२ लाख ८२ हजार ४६३ आवेदकबाट १ करोड ३९ लाख ६४ हजार ७१० कित्ता शेयरको लागि आवेदन परेको छ । जुन माग भन्दा २५ दशमलव ८८ गुणा बढी आवेदन हो ।
कम्पनीको आईपीओ १० कित्ताका दरले ५३ हजार ९५० जनाले मात्र हात पार्नेछन् । यस आधारमा १२ लाख २८ हजारभन्दा बढी आवेदकको हात खाली हुनेछ ।
यसअघि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ विक्री तथा बाँडफाँट गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा जेठ १ देखि १९ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीमा जेठ १ देखि १६ गतेसम्म आईपीओ विक्री गरी जेठ ३० गते बाँडफाँट गरेको थियो ।
प्रतिक्रिया दिनुहोस