aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बाँडफाँट, ११ लाखभन्दा बढीको हात खाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असार २०८०
अप्पर स्याङ्गे हाईड्रोपावरको आईपीओ बाँडफाँट, ११ लाखभन्दा बढीको हात खाली

काठमाडौं । अप्पर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रवार विहान नक्साल स्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न गरेको हो । 

कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा ५ लाख ३९ हजार ५०० कित्ता आईपीओ सार्वजनिक निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाको माध्यमबाट बाँडफाँट गरिएको हो । विक्री प्रबन्धकका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १२ लाख ४७६ जना आवेदकहरूले १ करोड २८ लाख २५ हजार ५३० कित्ता शेयर माग भएको थियो ।

कुल आवेदकहरूमध्ये रितपूर्वक नभएकाले २ हजार ३९९ जना आवेदकहरूबाट प्राप्त ३६ हजार ८२० कित्ताको खरीद आवेदन रद्द गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ । रितपूर्वक आवेदन दिएका ११ लाख ९८ हजार ७७ जना आवेदकहरूलाई बाँडफाँटमा सहभागी गराइएको थियो ।

योग्य आवेदकहरूमध्येबाट भाग्यमानी ५३ हजार ९५० जना आवेदकहरूले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।  योग्य आवेदकहरूमध्ये पनि ११ लाख ४४ हजार १२७ जना आवेदकहरूको हात खाली भएको छ ।

कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नु अघि आयोजना प्रभावित स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूमा समेत आईपीओ बाँडफाँट गरिसकेको छ । 

आयोजना प्रभावित स्थानीयमा २ लाख २० हजार कित्ता, ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा, ३२ हजार ५०० कित्ता सामूहिक लगानीकोषहरूमा र १३ हजार कित्ता कम्पनीका कर्मचारीहरूमा बाँडफाँट गरिएको हो ।

कम्पनीले लमजुङ्ग जिल्लामा २ दशमलव ४ मेगावाट क्षमताको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरेको छ । यस आयोजनाको कुल अनुमानित लागत रू. ५० करोड ४८ लाख रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत रू. २१ करोड ३ लाख रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस