aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

घोराही सिमेन्टको आईपीओ आजदेखि पुनः विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ असार २०८०
घोराही सिमेन्टको आईपीओ आजदेखि पुनः विक्रीमा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ असार २२ गते शुक्रवारदेखि पुनः विक्री खुला भएको छ । यस अघि बोर्डको कम्पनीको आईपीओ खरीदका लागि नक्कली आवेदन परेको आशंकामा छानविनका लागि भन्दै  निष्कासन प्रक्रिया स्थगित गरेको थियो ।

बोर्डले असार ४ गतेदेखि सार्वजनिक निष्कासनकै क्रममा कम्पनीको आईपीओ विक्री प्रक्रिया स्थगित गरेको हो । नेपाल धितोपत्र बोर्डले आवश्यक छानविन जारी राख्दै लगानीकर्ताको रकम लामो समय बन्धक नबनाउने उदेश्यले विक्री खुला गर्न निर्देशन दिएसँगै कम्पनीले प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले असार २२ गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्ने गरी आईपीओ विक्री खुला गरेको हो । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमो असार ३१ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको छ । 

घोराही सिमेन्टको आईपीओका सम्बन्धमा छानविन गर्नका लागि बोर्डले बोर्डका सुपरिभिजन प्रमुख दिपेश ताम्राकारको संयोजकत्वमा छानविन समिति गठन गरी सो समितिले तयार गरेको प्रतिवेदन समेत सार्वजनिक गरेको छ । बोर्डले कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारणहरूको रू. ३ अर्ब ६१ करोड रकम बन्धक भएको पुष्टि गरेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीमा गएका नेपाली र उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गरिएको शेयर बाँडफाँट भई रू. २९ करोड ४६ लाख ७८ हजार २०० कम्पनीको खातामा रकमान्तर समेत भएको जानकारी बोर्डले दिएको छ । आर्थिक वर्ष ०७९/८० समेत समाप्त हुन लागेको अवस्थालाई ध्यानमा राखेर बोर्डले छानविनलाई निरन्तरता दिई सार्वजनिक निष्कासन प्रक्रियालाई भने खुला गर्ने निर्णय गरेको हो ।

सि–आस्बा प्रणालीमा दर्ता भएका आवेदकहरूको हकमा आवेदन गरेको शेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता तथा खारेज गर्न सक्ने व्यवस्था समेत बोर्डले गरेको छ । निष्कासन खुला रहने यो तीन दिनभित्र यस अघि आवेदन दिएका आवेदकहरूले आवेदन फिर्ता वा थपघट गर्न मिल्ने व्यवस्था बोर्डले गरेकाले सोही बमोजिम विक्री प्रबन्धकले समेत आवश्य व्यवस्था मिलाएको छ ।

कम्पनीको आईपीओ निष्कासन खुला हुने भएपनि आईपीओ सम्बन्धमा छानविन भने जारी रहने बोर्डको भनाई छ । बोर्डले कम्पनीको आईपीओ सम्बन्धमा थप छानविनका लागि नेपाल प्रहरी समक्ष सिफारिक गर्ने निर्णय गरेको छ । केहि आवेदकहरूले बैंक खातामा प्रयाप्त रकम नहुदा नहुदैं सर्वसाधारण लगानीकर्ताहरूलाई भ्रमित पार्ने गरी आवेदन दिएको पाइएकाले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनका लागि सिफारिस गर्ने निर्णय बोर्डले गरेको हो ।

उक्त कार्यमा निष्कासनकर्ता कम्पनी र निष्कासन तथा विक्री प्रबन्धकको कुनै संलग्नता नदेखिएको बोर्डको भनाई छ । तर निष्कासन तथा विक्री प्रबन्धकले मागभन्दा बढी आवेदन परिसकेको अवस्थामा समेत समयअवधि थप गरेको सम्बन्धमा समेत थप छानविन गर्ने निर्णय बोर्डले गरेको छ । आस्बा सदस्य एनआईसी एशिया बैंकले आवेदकको खातामा प्रयाप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा बैंकमाथी समेत रकम नहुदा समेत के कति कारणले आवेदन स्वीकृत भएको हो सो सम्बन्धमा समेत थप छानविन गरी काराबाही अघि बढाउने निर्णय बोर्डले गरेको छ ।

घोराही सिमेन्टको आईपीओ सार्वजनिक निष्कासनकै क्रममा असार ४ गतेदेखि बोर्डले आवश्यक छानविनका लागि भन्दै स्थगित गरेको थियो । आफ्नो खातामा रकम नभएको अवस्थामा १२ जना आवेदकहरूले घोराहीको आईपीओ खरीदका लागि १० लाख कित्ताका दरले आवेदन दिएको प्रमाण भेटिएको थियो ।

नक्कली आवेदन परेको स्पष्ट प्रमाणका आधारमा बोर्डले छानविन अघि बढाएको थियो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री खुला गरेको थियो । आईपीओ विक्री अवधि असार ४ गतेभित्रनै मागभन्दा ३ गुणा बढी आवेदन परिसकेको अवस्थामा कम्पनीले विक्री अवधि थप गरी असार १४ गतेसम्म कायम गरेपछि बोर्डले विशेष निगरानी बढाई छानविन गरेको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ ।

हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस