
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले पुनः निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओ यस अघि जेठ ३२ गतेदेखि असार ४ गतेसम्म निष्कासनकै क्रममा स्थगित भएको थियो ।
नेपाल धितोपत्र बोर्डले आवश्यक छानविनका लागि स्थगित गरेको हाईपीओ छानविन जारी राख्दै निष्कासनको लागि बाटो खोलिदिएपछि कम्पनीले असार २२ गतेदेखि पुनः निष्कासन गरेको हो । असार २४ गतेसम्म माग बमोजिम आवेदन नपरेमा असार ३१ गतेसम्म विक्री लम्बिने जानकारी कम्पनीले दिएको थियो ।
कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार असार २२ गते शुक्रवार सम्मनै कम्पनीको आईपीओ खरीदका लागि ५ लाख ९५ हजार २६५ जना आवेदकहरूबाट २ करोड ५२ लाख १३ हजार २१० कित्ता शेयर खरीद माग भएको छ । जुन मागभन्दा ३ दशमलव ६५ गुणा बढी आवेदन हुन आउछ ।
कम्पनीले सर्वसाधारणमा प्रिमियम सहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ ।
हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस