काठमाडौं । अरुण काबेली पावरले निष्कासन गर्न लागेको शतप्रतिशत हकप्रद शेयर असार २४ गतेसम्म कायम शेयरधनीहरूले मात्र भर्न पाउनेछन् । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि असार २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरू मात्र आवेदनका लागि योग्य हुने भएका हुन ।
कम्पनीले २०७८ साल कात्तिक २८ गते हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा यो असार १३ गते अनुमति पाएको थियो । हकप्रद निष्कासनको मिति भने हालसम्म पनि तय गरेको छैन् । कम्पनीको आर्थिक वर्ष ०७७÷७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
उक्त बोनस शेयर पश्चात् कायम चुक्तापूँजी रू. १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० को आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्न अनुमति पाएको हो । शतप्रतिशत हकप्रद पछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ७१ करोडभन्दा बढी कायम हुनेछ ।
कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । कम्पनीले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस