aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आईपीओ निष्कासन गर्न बोर्डले दियो थप दुई जलविद्युुत कम्पनीलाई अनुमति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २४ असार २०८०
आईपीओ निष्कासन गर्न बोर्डले दियो थप दुई जलविद्युुत कम्पनीलाई अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो समय थप दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले असार २० गते चिर्खुवा हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेड लाई शेयर निष्कासनको लागि अनुमति दिएको हो ।

चिर्खुवा हाइड्रोपावर लिमिटेडले रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ निकाष्सनका लागि बोर्डको अनुमति पाएको हो । हाल संस्थापक तर्फबाट ७० प्रतिशत शेयर स्वामित्व कायम गरेको यस कम्पनीले सर्वसाधारणमा ३० प्रतिशत आईपीओ विक्री गर्न अनुमति पाएको हो । संस्थापक तर्फ हाल कम्पनीको रू. २८ करोड चुक्तापूँजी कायम रहेको छ ।

सर्वसाधारणमा समेत आईपीओ जारी पछि कम्पनीको चुक्तापूँजी रू. ४० करोड कायम हुनेछ । यस कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिंग लिमिटेड रहेको छ । कम्पनीले भोजपुर जिल्लामा ४ दशमलव ७ मेगावाट क्षमताको अपर चिर्खुवा जलविद्युत आयोजना र भोजपुर जिल्लामै ४ दशमलव शून्य ६ मेगावाट क्षमताको लोअर चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

त्यस्तै बोर्डले माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई रू. २५ करोड बराबरको २५ लाख कित्ता आईपीओ विक्री गर्न अनुमति दिएको छ । हाल संस्थापक तर्फ ७५ प्रतिशत स्वामित्व रहेको यस कम्पनीले सर्वसाधारणमा २५ प्रतिशत आईपीओ विक्री गर्न बोर्डको अनुमति पाएको हो । 

हाल कम्पनीको संस्थापकतर्फबाट चुक्ता भएको पूँजी रू. ७५ करोड रहेको छ । सर्वसाधारणमा समेत आईपीओ बाँडफाँटपछि चुक्तापूँजी रू. १ अर्ब पुग्नेछ । कम्पनीको शेयर निष्कासनको तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । यस कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस