aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

एउटै असफल योजनामा पटक पटक लगानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०

भैरहवा ।  दिर्घकालीन योजना बिना बजेट रकम सकाउनकै लागि एउटै योजनामा पटक पटक लगानी गरि गुणस्तरहिन काम गरिएको भेटिएको छ । रुपन्देहीको रोहिणी गाउँपालिकाले बाँध नियन्त्रणको नाममा बर्षेनी गरेको लगानी बालुवामा पानी बराबर हुने गरेको छ । 

रोहिणी गाउँपालिका वडा नम्बर ५ तुरिया खोलामा रोहिणी गाउँपालिकाले यस बर्ष पनि गरेको ३० लाखको लगानी खेर गएको छ । बाँध बनाएको दश दिन पनि नपुग्दै बाँध टुटेको छ । बाँध निर्माण पछि हौसिएर भर्खर रोपाई गरेका किसानको सयौ बिगहा खेत फेरी डुबानमा परेको छ । खेतमा धानको सट्टा तुरिया खोलाले बगाएर ल्याएको गेग्रान थुप्रिएको छ । 

असारमा हतार हतार बाँध बनाईयो । बाँध बनाउदा धेरै प्राविधिक कुराको ख्याल नगरि बजेट खर्च गर्नको लागि मात्रै काम गरियो । त्यसको नतिजा पहिलो बाढीमै तुरिया खोला तटबन्ध छेउछाउ फोडदै किसानको खेतमा पस्यो । यसले त्यस क्षेत्रको करिब ३ सय बिगहा धानबालीलाई नोक्सान गरेको किसानहरुको गुनासो छ । 

पटक पटक बाढीको बितण्डा भोगेका किसानहरुलाई तटबन्ध भए पछि केही आशा पलाउछ गेग्रानले पुरिएको खेतलाई सफा गरि धान रोप्छन । तर रोपेको खुशी मनाउन नपाउदै उनिहरुको खेतमा फेरी सोही गेग्रान थुप्रिने गरेको छ । 

रोहिणी गाउँपालिका अध्यक्षले प्रभावित कृषकहरुको बारे भने पालिकाले अहिले सम्म कुनै योजना बनाएको छैन । एक बर्ष अघि देखी नै बाढी जन्य बिपद् ब्यवस्थापनको तयारी गरि रहेको बिपद् ब्यवस्थापन समिति पनि अहिले सम्म घटना स्थलमा पुग्न सकेका छैनन् । यसले स्थानिय सरकार र बिपद् ब्यवस्थापन समिति किसानहरुको समस्यामा कत्तिको अनुदार छ भन्ने पनि स्पष्ट बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस