
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ २२ गतेदेखि विक्रीमा ल्याएको हकप्रद शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले यस अघि असार १० गतेसम्मका लागि विक्री अवधि तोकेको थियो । सो अवधिसम्म माग बमोजिम आवेदन नपरेकाले असार २५ गतेसम्मको अवधि थप गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा प्रतिशेयर रू. १०० अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर कम्पनीले विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि बैशाख २७ गते बुकक्लोज गरेको थियो ।
बुक क्लोजको आधारमा बैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बीप्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै लगानीकर्ताले हिमालयन दोलखा हाइड्रोपावर तथा लक्ष्मी बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखामार्फत आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टेयर र एपमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड रहेको छ । ७५ प्रतिशत हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लाग रू. ७२ करोड ५१ लाख ४९ हजार रहेको छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस