
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले असार २१ गतेदेखि सर्वसाधारणमा जारी गरेको आईपीओ खरीद गर्ने अन्तिम दिन आज रहेको छ । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि असार २५ गतेसम्ममात्र विक्रीमा रहने निश्चित भएको हो ।
कम्पनीले यस अघि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा विक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीमो असार १ गतेदेखि १५ गतेसम्म १२ लाख कित्ता आईपीओ विक्री गरी असार १९ गते बाँडफाँट गरिएको हो ।
कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा आईपीओ विक्री खुला गरेको हो । कर्मचारीहरूमा भने कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमै आईपीओ विक्री गर्ने बताएको छ । जारी पूँजी रू. ४ अर्बको ३० प्रतिशतले हुने १ करोड २० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
कुल कित्ता आईपीओेमध्ये १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकेको कम्पनीले कर्मचारीलाई ६ लाख कित्ता र सामुहिक लगानी कोषहरूका लागि ६ लाख कित्ता आईपीओ सुरक्षित गरेको छ । बाँकी ९६ लाख कित्ता भने आम सर्वसाधारणलाई सार्वजनिक निष्कासनमा ल्याउन लागिएको हो । सर्वसाधारणमा जारी हुने आईपीओ ९ लाख ६० हजार योग्य आवेदकहरूले १० कित्ताका दरले हात पार्नेछन् ।
सर्वसाधारण लगानीकर्ताहरूले कम्पनीको आईपीओ खरीदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको कार्यालयसँगै मेरो शेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराइएको रेटिङमा केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनीको संकेत गर्ने केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । कम्पनीले नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल भदौ १ गतेदेखि कारोबार सूरू गरेको हो । यस कम्पनीले स्थापना कालदेखिनै मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्ला तीन आर्थिक वर्षको सञ्चित नाफाको अवस्था हेर्दा कम्पनीले निरन्तर नाफा बढाएको देखिन्छ ।
आर्थिक वर्ष ०७६/७७ मा रू. ४३ करोड ७६ लाखभन्दा बढी सञ्चित नाफा गरेको कम्पनीले आर्थिक वर्ष ०७७÷७८ मा रू. ७३ करोड ५१ लाखभन्दा बढी सञ्चित नाफा गरेको थियो । आर्थिक वर्ष ०७८÷७९ सम्म भने कम्पनीले रू. १ अर्ब ७ करोडभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ५३ छ ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब २६ करोडभन्दा बढी सञ्चित नाफामा रहेको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रू. २ अर्ब १ करोडभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।
यस कम्पनीको अधिकृत पूँजी रू. ५ अर्ब रहेको छ भने जारी पूँजी रू. ४ अर्ब छ । हाल संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २ अर्ब ८० करोड रहेको कम्पनीले सर्वसाधारणमा समेत आईपीओ विक्री तथा बाँडफाँट पछि चुक्तापूँजी रू. ४ अर्ब कायम गर्नेछ ।
प्रतिक्रिया दिनुहोस