aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

घोराही सिमेन्टको आईपीओ सबै आवेदकको भागमा पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ असार २०८०
घोराही सिमेन्टको आईपीओ सबै आवेदकको भागमा पर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आईपीओ सबै आवेदकहरूले पाउने भएका छन् । कम्पनीको आईपीओ खरीदका लागि अन्तिम दिनसम्म ६ लाख ७३ हजार ८३९ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार यी आवेदकहरूबाट २ करोड ५४ लाख २० हजार ३२० कित्ता आईपीओ खरीद माग भएको हो ।

कित्ताको हिसाबमा मागभन्दा करिब ३ गुणा बढी आवेदन परेको हो । कम्पनीको आईपीओ आवेदक संख्याको हिसाबमा बाँडफाँट हुनेछ । कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्य सहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री गरेको हो । 

पछिल्लो बाँडफाँट व्यवस्था अनुसार कम्पनीको आईपीओ ६ लाख ९१ हजार १६७ जनाले १० कित्ताका दरले पाउने थिए । तर कम्पनीको आईपीओ खरीदका लागि योभन्दा कम संख्यामा आवेदकहरू रहेका छन् । सबै आवेदक योग्य भएमा सबै आवेदकहरूले १० कित्ता शेयर पाउनेछन् भने केहि आवेदकहरूले २० कित्ता सम्म शेयर हात पार्नेछन् ।

सर्वसाधारणमा आईपीओ निष्कासनका क्रममा परेको आवेदनको संख्यालाई हेर्दा घोराहीको आईपीओ खरीदका लागि कम आवेदकहरूले मात्र आवेदन दिएका छन् । सर्वसाधारणमै जारी भएको आईएमई लाइफको आईपीओ खरीदका लागि भने १२ लाख ९० हजार ७४१ जनाबाट आवेदन परेको छ ।

सिडिएससीका अनुसार अन्तिम दिनसम्म आईएमई लाइफको यी आवेदकहरूबाट १ करोड ५७ लाख ८७ हजार १५० कित्ता आईपीओ खरीद माग भएको हो । जुन मागभन्दा १ दशमलव ६४ गुणा बढी आवेदन हुन आउछ ।

आईएमई लाइफले पनि प्रिमियम मूल्यमै सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । यस कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा प्रिमियम वापत रू. १३६ दशमलव ९१ थप गरी प्रतिकित्ता रू. २३६ दशमलव ९१ मा सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले असार २० गतेदेखि २५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको हो ।

घोराही सिमेन्टको आईपीओ भने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाउदादेखिनै विवादित बनेको थियो । सर्वसाधारण  लगानीकर्ताहरूले सुरुवाती दिनदेखिनै घोराही सिमेन्टको आईपीओको प्रिमियम मूल्य बढी भएको भन्दै आईपीओ नभर्न आग्रह गर्दै आएका थिए । जेठ ३१ गतेदेखि विक्रीमा आएको घोराहीको आईपीओ खरीदमा नक्कली आवेदन दिएको प्रमाण भेटिएपछि असार ४ गतेदेखि स्थगित भएको थियो ।

बोर्डले आवश्यक छानविन गर्न भन्दै घोराहीको आईपीओ असार ४ गतेदेखिनै रोक्का राखेको थियो । आर्थिक वर्षको अन्त्यको समय रहेकाले लगानीकर्ताको पैसा लामो समय रोक्का नराख्ने उदेश्य सहित बोर्डले छानविन जारी राख्दै निष्कासन प्रक्रिया खुला गर्ने निर्णय असार २० गते गरेको थियो । बोर्डको निर्णयपछि असार २१ गतेदेखि २५ गतेसम्म कम्पनीले सर्वसाधारणमा पुनः आईपीओ विक्री गरेको हो ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेका छन् । यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ ।

हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस