
काठमाडौं । एनएलजी ईन्स्योरेन्स कम्पनी लिमिटेडले ६६ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारितका लागि साउन १५ गते विशेष साधारण सभा बोलाएको छ । असार २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्याङ्केट, थिरबम सडक, बालुवाटार, काठमाडौंमा विहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ४५ करोड ९२ लाख ७५ हजारको आधारमा ६६ प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । कम्पनीले १० शेयर बराबर ६ दशमलव ६ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद पश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४२ करोड २३ लाख ९७ हजार कायम हुनेछ । सोही बराबरको पूँजी कायम हुने गरी प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव समेत सभाका लागि तय भएको छ ।
यस कम्पनीलाई नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम रू. २ अर्ब ५० करोड पूँजी कायम गर्नुपर्ने हुन्छ । हकप्रद पछि पछि कम्पनीलाई थप रू. ७ करोड ७६ लाख ३ हजार पूँजी आवश्यक हुन्छ । नेपाल बीमा प्राधिकरणले कम्पनीहरूलाई पूँजी बृद्धिका लागि हकप्रद र बोनस शेयरमा रोक नलगाउने बताईसकेको छ ।
यस कम्पनीले अघिल्ला वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको छ । गत आर्थिक वर्ष ०७८÷७९ को मुनाफबाट पनि कम्पनीले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले विगत दश आर्थिक वर्षमा वितरण गरेको लाभांशको इतिहासलाई हेर्दा २६ दशमलव ३१ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ । आर्थिक वर्ष ०७२÷७३ र ०७३÷७४ को मुनाफाबाट कम्पनीले उक्त अनुपातमा निरन्तर लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस