
काठमाडौं । दुई जलविद्युत कम्पनीहरूले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन् । सिंगटी हाइड्रो इनर्जी लिमिटेड र हिमालयन उर्जा विकास कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति मागेका हुन ।
दुबै कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेका हुन । सिंगटी हाईड्रो इनर्जीले हाल कायम चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँको १ बराबर १ को अनुपातमा प्रति शेयर १०० रूपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डसँग अनुमति मागेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रूपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।
यस्तै हिमालयन उर्जा विकास कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँको आधारमा १ बराबर १ को अनुपातमा ९९ लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डमा निवेदन पेश गरेको छ । शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ ।
हिमालयन उर्जा विकास कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले असार २७ गते र हिमालयन उर्जा विकास कम्पनीले असार ३१ गते हकप्रद निष्कासनका लागि बोर्डमा निवेदन पेश गरेका हुन ।
प्रतिक्रिया दिनुहोस