aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

म्याग्दीमा केराखेती फस्टाउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ साउन २०८०
म्याग्दीमा केराखेती फस्टाउँदै
फाइल फोटो

गलेश्वर । म्याग्दीमा पछिल्लो समय केराखेती फस्टाउँदै गएको छ । यहाँका किसानले आयआर्जन गर्न व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् । म्याग्दीका ६ वटै स्थानीय तहमा केराखेती गर्ने क्रम बढ्दो छ । जिल्लाका दुई सय १४ किसानले व्यावसायिकरुपमा केरा खेती गर्दै आएको तथ्याङ्क छ ।

उनीहरुले वार्षिक रु छ लाखदेखि रु १३ लाखसम्म आम्दानी गरेका छन् । बेनी नगरपालिका–२ खबराका सोभित सापकेटा कृषि फार्म दर्ता गरी केराखेती थालेको बताउँछन् । चौध रोपनी जग्गामा लगाएको केराखेतीबाट वार्षिकरुपमा रु १० लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । सापकोटाको केराखेतीबाट प्रभावित बनेर गाउँका अन्य किसान पनि व्यावसायिकरुपमा केराखेती गर्न थालेका छन् ।  

थोरै लगानीमा छिटो आम्दानी गर्न सकिने, बिक्री गर्न सजिलो हुनेलगायत कारणले किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । “उत्पादन भएको केरा सहजै बिक्री हुन्छ, बजारको समस्या छैन”, सापकोटा बताउँछन् । केराखेतीमा लागेपछि यहाँका बासिन्दाको आर्थिक अवस्थामा सुधार आएको छ । खबराका एक सय ६० परिवार केराखेती गर्दैआएका छन् । खबरामा दुई दशकअघि मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले व्यावसायिकरुपमा केराखती थालेका हुन् । दुवैजनाको सिको गरेर हाल सबैले केराखेती थालेका छन् । उनीहरु अधिकांशले हजारी जातको केराखेती गरेका छन् ।

खबराका किसानबाट प्रभावित भएर बगरफाँटका बासिन्दा पनि व्यावसायिक केराखेतीमा लागेका छन् । “धान, कोदो, मकै र गहुँभन्दा केराबाट पर्याप्त आम्दानी गर्न सकिन्छ”, कार्कीले भने । उत्पादित केरा घरबाटै बिक्री हुने गरेको उनले बताए । “केरा किन्न बेनीदेखि व्यवसायी घरमै आउँछन्, प्रतिदर्जन एक सय २० मा बिक्री हुन्छ”, उनले भने । 

खबराकै अर्का किसान हरि कुँवरले पनि १० रोपनी जमिनमा केराखेती गर्नुभएको छ । केरा बिक्री गरेर वार्षिक रु छ लाखसम्म आम्दानी हुने गरेको उनले बताए । आम्दानी हुन थालेपछि अहिले गाउँ नै केराखेतीले ढाकेको छ । खेतबारी, पाखा, कान्ला र खोल्सा सबैतिर केराखेती गरिएको कार्कीले बताए । 

बेनी–२ बगरफाँट गाउँका किसानले धान फल्ने खेतमा केराखेती गरेका छन् । धान, गहुँ र मकैबालीको विकल्पमा उनीहरुले केराखेती गरेर आयआर्जनको माध्यम बनाएका छन् । बेनी–२ खबरा र बगरफाँट, रघुगङ्गा गाउँपालिका–२ राममन्दिर, माझखर्क र रिसिन चौतारी केराखेतीको पकेट क्षेत्रका रुपमा चिनिएको छ ।  

प्रतिक्रिया दिनुहोस