
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा असार ७ गतेदेखि २१ गतेसम्म १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ विक्री खुला गरेको थियो ।
तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूमा सम्पूर्ण कित्ता आईपीओ साउन २ गते बाँडफाँट गरिएको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत कम्पनीले आईपीओ विक्री गरेको छ । आयोजना प्रभावित स्थानीयमा असार ७ गतेदेखि साउन ५ गतेसम्म कम्पनीले आईपीहो विक्री खुला गरेको छ ।
कम्पनीले जारी पूँजी रू. ५० करोड ९८ लाख ४ हजारको १० प्रतिशत अर्थात रू. ५ करोड ९ लाख ८० हजार ४०० बराबरको ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ आयोजना प्रभावित स्थानीय वासिन्दाहरूका लागि निष्काशन गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि विक्री गरिने कुल कित्ता शेयरमध्ये ५० प्रतिशत अर्थात २ लाख ५४ हजार ९०२ कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र नौमुले गाँपालिका वडा नं. ३ का बासिन्दाहरूको लागि र ५० प्रतिशत उक्त क्षेत्र बाहेकका सम्पूर्ण दैलेख जिल्लाबासीहरूका लागि विक्री गर्न लागिएको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने दोस्रो चरणमा विक्री गरिने सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने आईपीओ बाँडफाँट गरिएको हो । आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा कम्पनीले सर्वसाधारणमा आईपीओ विक्री गर्नेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । वासिन्दाहरूले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीले दैलेख जिल्लामा ४ मेगावाट क्षमताको माथिल्लो लोहोरे साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । वैशाख मसान्तसम्म आयोजनाको ८७ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको छ । आयोजनाको कुल अनुमानित लागत रू. ९४ करोड ७२ लाख १७ हजार रहेको छ । प्रतिमेगावाट अनुमानित लागत भने रू. २३ करोड ६८ लाख ४ हजार रहेको छ ।
प्रतिक्रिया दिनुहोस