aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लम्पी स्किनबाट एक सय ५९ पशु मरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ साउन २०८०
लम्पी स्किनबाट एक सय ५९ पशु मरे

रसुवा । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् । 
               
जिल्लाका पाँचवटै गाउँपालिकाका पशुचौपाया लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ । उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश वडालका अनुसार छ वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको छ । 

“रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ”, उनले भने । गोसाइँकुण्डभित्र करिब आठ सय पशु लम्पी स्किनबाट सङ्क्रमित छन् । लम्पी स्किनबाट सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ । हिमाली क्षेत्रको खाली पाखामा पशुचौपाया छोड्ने चलनले रोग बढी फैलिएको उनी बताउछन । 

जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ । आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झण्डै एक हजार पाँच सय  पशुचौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन् । 
             
कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताए । सङ्क्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ ।  

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नुवाकोटका सूचना अधिकारी पशु चिकित्सक डा बब्लु थारुका अनुसार गत असार ३१ गतेसम्म नुवाकोट र रसुवामा गरी झण्डै १३ हजार गाई, गोरु, भैँसी र चौरी लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् । “रसुवाको हिमाली भेगमा लम्पी स्किनबाट चौरीसमेत मरेका खबर आएको छ”, उनले भने–“रोगको अवस्थाबारे जानकारी लिन हाम्रो टोली त्यसतर्फ जाँदैछ ।” तत्कालका लागि रोग फैलिएको ठाउँमा औषधि पठाएको डा थारुले बताए । लम्पी स्किनबाट नुवाकोटमा हालसम्म चार सय ११ पशुचौपाया मरेका छन । 

प्रतिक्रिया दिनुहोस