
काठमाडौं । धितोपत्र प्राथमिक बजारमा यतिबेला नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको मात्र हकप्रद शेयर विक्रीमा रहेको छ । साधारण शेयर निष्कासनले निरन्तरता पाइरहेको प्राथमिक बजारमा पछिल्लो समय हकप्रद शेयर निष्कासन भने निकै कम भइरहेको छ ।
नेशनल हाइड्रोपावरले ने असार २९ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीको हकप्रद शेयर खरीदका लागि साउन १८ गतेसम्म मात्र आवेदन दिन सक्ने जानकारी कम्पनीले साउन ४ गते पुनः सुचना जारी गर्दै गराएको छ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० बराबर ५ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड ४२ लाख ९१ हजार रूपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफापछि कम्पनीको चुक्तापूँजी २ अर्ब ४६ करोड ६४ लाख ३७ हजार रूपैयाँ पुग्नेछ ।
कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका ८२ करोड २१ लाख ४५ हजार रूपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । साउन ४ गते विहान १० बजेसम्म १४ हजार ५३ जना शेयरधनीहरूबाट १७ लाख ९४ हजार ९८१ कित्ता हकप्रद शेयर खरीद माग भएको छ । हालसम्म कम्पनीको करिब २२ प्रतिशत हकप्रद शेयर विक्री भैसकेको छ ।
हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको आधारमा जेठ ३२ गतेसम्म कायम शेयरधनीहरूले मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । योसँगै मेरो शेयर अनलाईन मार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी श्राङ्गपाल गाउँपालिका तथा मेलम्ची नगरपालिका भएर बग्ने ईन्द्रावती नदीको पानी उपयोग गरी ७ दशमलव ५ मेगावाट क्षमताको ईन्द्रावती–३ जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाबाट कम्पनीले २०५९ साल असार २१ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
हाल कम्पनीले ४ दशमलव ५ मेगावाट क्षमताको तल्लो ईन्द्रावती जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यीसँगै भोजपुर जिल्लामा १४ दशमलव १५ मेगावाट क्षमताको तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाको निर्माण कम्पनीकै अधिकतम शेयर भएको लोअर इर्खुवा हाइड्रो पावर कम्पनी मार्फत भइरहेको छ ।
कम्पनीको सुनकोशी हाइड्रो पावरलाई प्राप्ति गरी २०७९ साल असोज १४ गतेदेखि एकिकृत कारोबार सुरू गरेको थियो । सुनकोशी हाइड्रोपावर कम्पनीमार्फत यस कम्पनीले तल्लो इन्द्रावती जलविद्युत आयोजनामा लगानी गरेकोमा उक्त आयोजनाको इजाजत पत्र नेपाल सरकारले रद्द गरेको छ । नेपाल सरकारले सो आयोजना लिलाम बढाबढ प्रकृया मार्फत उपलब्ध गराउने निर्णय गरेसँगै नेशनल हाइड्रोपावरले सो इजाजत पत्र प्राप्त गरी उक्त आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस