काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित १५ लाख ७७ हजार २११ कित्ता हकप्रद शेयर साउन २२ गतेदेखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले यस अघि जेठ २२ गतेदेखि असार २५ गतेसम्म ७५ प्रतिशत दरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण तर्फको उक्त शेयर साउन २९ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो ।
प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा लिलामीमा आउन लागेको यो शेयर खरीदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीले विक्री गरेको हकप्रदका लागि रितपूर्वक आवेदन दिएका आवेदकहरूलाई १ करोड ४ लाख २२ हजार ७८९ कित्ता हकप्रद शेयर साउन ३ गते बाँडफाँट गरेको थियो ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ६० करोड रूपैयाँको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा हकप्रद शेयर विक्री गरेको हो । सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रूपैयाँ पुग्नेछ । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।
माईखोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लागत ७२ करोड ५१ लाख ४९ हजार रूपैयाा रहेको छ भने माईसाना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस