
काठमाडौं । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले असार १९ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीदका लागि स्थानीयले आवेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री खुला गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबाट भने कम्पनीले साउन २ गतेसम्म मात्र आवेदन संकलन गरेको थियो । कम्पनीले जारी पूँजी ८० करोड रूपैयाँको १० प्रतिशत दरको ८ लाख कित्ता आईपीओ कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि विक्री खुला गरेको हो ।
स्थानीयको शेयर खरीदका लागि दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं. ५, ६, ७ र ८, बिगु गाउँपालिका वडा नं. ४ र कालिञ्चोक गाउँपालिका वडा नं. ३ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका विक्री गरिने शेयरमध्ये १० प्रतिशत दरको २ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरिएको हो । योे आईपीओ खरीदका लागि स्थानीयले यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीय बासिन्दाले कम्पनीको रजिष्ट्रर्ड कार्यालय, प्रभु बैंक, सिन्धु विकास बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका तोकिएका शाखा कार्यालय तथा गौरीसंकर गाउँपालिकाको कार्यालयबाट आवेदन दिन सक्नेछन् । स्थानीयले आईपीओ खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २०० रूपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यस कम्पनीले दोलखा जिल्ला जिल्लामा ५ मेगावाट क्षमताको घट्टेखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७७ साल कात्तिक २२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । उक्त आयोजनको कुल अनुमानित लागत १ अर्ब ३९ करोड ३५ लाख ७५ हजार रूपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस