
काठमाडौं । निर्जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा कुल बीमा शुल्कमा ३.५९ प्रतिशतले बढाएका छन् । १४ वटा निर्जीवन बीमा कम्पनीले साढे ४० अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा कम्पनीहरुले ४० अर्ब ५७ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन।
गत आर्थिक वर्षको असारसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । गत आर्थिक वर्षमा सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने शिखर इन्स्योरेन्सले ५ अर्ब ५२ करोड २१ लाख रुपैयाँ संकलन गरेको छ ।
त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि ४ अर्ब ५१ करोड ६६ लाख रूपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ४२ करोड रुपैयाँ, आइजीआई प्रुडेन्सिलयले ३ अर्ब ३९ करोड रुपैयाँ, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेका छन् । नेकोले २ अर्ब ९२ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड रुपैयाँ र राष्ट्रिय बीमा संस्थानले २ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
त्यस्तै, नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड ८३ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड ८७ लाख रुपैयाँ, सानिमा जिआईसीले २ अर्ब ३२ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड ५८ लाख रुपैयाँ संकलन गरेको छ ।
प्रतिक्रिया दिनुहोस