
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर २७ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणमा जारी गर्ने आईपीओमध्ये १० प्रतिशत आईपीओ पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्री खुला गरेको हो ।
जारी पूँजी रू. ४ अर्बको ३० प्रतिशतले हुन आउने रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता आईपीओ विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असार १५ गते अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता रू. १०० मूल्यमा प्रिमियम वापत् रू. १५७ थप गरी प्रतिकित्ता रू. २५७ मा सर्वसाधारणा लागि आईपीओ विक्री गर्न अनुमति पाएको हो । कुल कित्ता आईपीओमध्ये पहिलो चरणमा १२ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरिएको हो ।
कुल कित्ता शेयरमध्ये यो वाहेक ५ प्रतिशत दरको ६ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ५ प्रतिशत अर्थात ६ लाख कित्तानै कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । कर्मचारीहरूका लागि भने प्रतिकित्ता रू. १०० अंकित मूल्यमै शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ । बाँकी ९६ लाख कित्ता आईपीओ भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याउनेछ ।
कम्पनीको आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्गले जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ ।
यो आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकिएको कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस