aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लम्पी स्किन महामारी : क्षति खर्ब नाघ्ने, आर्थिक वृद्धिदरमै धक्का निश्चित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ साउन २०८०
लम्पी स्किन महामारी : क्षति खर्ब नाघ्ने, आर्थिक वृद्धिदरमै धक्का निश्चित

काठमाडौं । देशभरका पशुचौपायामा संक्रमण भइरहेको लम्पी स्किन महामारीबाट १ खर्ब रुपैयाँभन्दा बढी क्षति हुने देखिएको छ । कम्तिमा असोजसम्म संक्रमण कायमै रहने देखिएकाले क्षति अझै बढ्नसक्ने सरकारी अधिकारीहरूले बताएका छन् ।

नेपालमा २०७७ असारमा मोरङको सुन्दरहरैंचाका पशुचौपायामा यो संक्रमण देखिएको थियो । अहिले देशका सबै जिल्लामा यो संक्रमण फैलिइसकेको छ । तुलनात्मक संक्रमण कम फैलने हिमाली जिल्लाका याक र चौंरीसमेत लम्पी स्किनबाट संक्रमित भएका छन् ।

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले अन्य देशमा यसअघि फैलिएको संक्रमणको रेकर्ड र नेपालको जलवायु तथा पशुपन्छीको औषत रोग प्रतिरोधात्मक क्षमता मूल्याङ्कन गर्दा कम्तिमा असोजसम्म संक्रमण जारी रहने बताए ।

डा. ढकालका अनुसार साउन ४ गतेसम्म प्राप्त मोटामोटी तथ्याङ्कअनुसार हालसम्म १० लाख ५४ हजार पशुचौपाया लम्पी स्किनबाट संक्रमित भइसकेका छन् । विशेषगरी गाइगोरु र याकचौंरीमा संक्रमण बढी देखिएको छ । प्राप्त तथ्यांकअनुसार संक्रमितमध्ये ७ लाख ३७ हजार पशुचौपाया संक्रमणमुक्त भएका छन् । ४८ हजार १३३ संक्रमित पशुको मृत्यु भैसकेको छ । २ लाख ३७ हजार चौपाया अहिले पनि संक्रमित अवस्थामै छन् ।

सरकारले चालू आर्थिक वर्षभित्र ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । बजेटमा सरकारले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिने उल्लेख गरेको छ । महामारी फैलिँदै गर्दा बजेट ल्याएको सरकारले स्वदेशमा भ्याक्सिन उत्पादन गर्ने महत्वाकांक्षी, तर तत्कालीन आवश्यकता पूरा नगर्ने घोषणा गरेको छ ।

‘तर यो एकीन तथ्यांक होइन, संक्रमण अझै बढी भएको हुनसक्छ,’ डा. ढकालले भने, ‘सबैभन्दा धेरै सुदूरपश्चिमका पशुचौपाया संक्रमित भएका छन् । अहिले बागमती र मधेश प्रदेशमा पनि संक्रमण फैलिइरहेको छ ।’ संक्रमणमुक्त भएका पशुचौपाया तन्दुरुस्त हुन समय लाग्ने, तर निको भएपनि ती पशुको मूल्य, प्रजनन्, उत्पादन लगायतमा समस्या कायम रहिरहन सक्ने डा. ढकालले जानकारी दिए ।

राष्ट्रिय किसान सञ्जालले असार अन्तिमसम्म नै लम्पी स्किनबाट देशभर ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ । तर, केही विज्ञहरूले भने लम्पी स्किनबाट असोजसम्म २ खर्ब रुपैयाँभन्दा बढी क्षति हुने र त्यसले आर्थिक वृद्धिदरमै झट्का दिने बताइरहेका छन् ।

‘कृषि र पशुपालनमा निर्भर नागरिक र त्यसैको आधार रहेको अर्थतन्त्रमा खर्ब हाराहारीको क्षति सानो होइन,’ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)का एक विशेषज्ञले भने, ‘एक त पशु बिरामी हुँदा उपचारमा किसानले खर्च गर्नुपरेको छ । पशुको मृत्यु हुँदा सोझै क्षति भैहाल्यो । पशु बिरामी हुँदा या मर्दा दूधघीउदेखि मलमुत्रसम्म क्षति हुन्छ । बिरामी पशु बाँचिहाले पनि मूल्य निकै घट्छ । प्रजनन् हुँदैन र उत्पादकत्वमा सोझै ह्रास आउँछ । खेती गर्ने याममा खेतबारी जोत्ने गोरु बिरामी हुँदा त्यसले देशकै कृषि उत्पादनमा ह्रास ल्याउने निश्चित छ ।’ यो महामारीले कति क्षति निम्त्याउँछ र नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई कहाँसम्म पुर्‍याउँछ भनी अहिले नै अनुमान गर्न सक्ने अवस्था नरहेको ती विशेषज्ञले बताए ।

नार्ककै नेपाल कृषि नीति अनुसन्धान केन्द्रका प्रमुख डा. कृष्ण तिमिल्सिनाले लम्पी स्किनबारे नार्कले औपचारिक अध्ययन नै नथालेको बताए । ‘अनुसन्धान नै नगरी क्षतिबारे बोल्न मिल्दैन । बजेट र समन्वय लगायत कारण हामीले तत्कालै अनुसन्धान थाल्न सकेका छैनौं,’ डा. तिमिल्सिनाले भने, ‘तर, क्षति निकै भएको देखिन्छ । बिरामी र मृत्यु भएका पशुको परल मूल्य गणना गर्दा सोझो हिसाब निस्किएला, तर क्षति गुणात्मक भएको हुनसक्त । अध्ययन/अनुसन्धान नै नगरी हामीले केही भन्नसक्ने अवस्था रहेन ।’

सरकारले चालू आर्थिक वर्षभित्र ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । बजेटमा सरकारले कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिने उल्लेख गरेको छ । महामारी फैलिँदै गर्दा बजेट ल्याएको सरकारले स्वदेशमा भ्याक्सिन उत्पादन गर्ने महत्वाकांक्षी, तर तत्कालीन आवश्यकता पूरा नगर्ने घोषणा गरेको छ । मलबीउ र यान्त्रिकीकरण लगायतमा केही अनुदान बाँड्ने गरेको सरकारले पशुचौपायाको महामारी तत्काल नियन्त्रण गर्नेगरी बजेटमा कुनै घोषणा गरेको छैन ।

‘क्षति निकै भएको देखिन्छ । बिरामी र मृत्यु भएका पशुको परल मूल्य गणना गर्दा सोझो हिसाब निस्किएला, तर क्षति गुणात्मक भएको हुनसक्त । अध्ययन/अनुसन्धान नै नगरी हामीले केही भन्नसक्ने अवस्था रहेन ।’

गत आर्थिक वर्ष आर्थिक वृद्धिदर लक्ष्य ८ प्रतिशत राखेर करिब २ प्रतिशतमात्र उपलब्धि हात पारेको सरकारले यो आर्थिक वर्षमा पनि विफलता भोग्नुपर्ने देखिन्छ । यान्त्रिकीकरण प्रभावकारी नभइसकेको नेपालमा अहिले पनि ८० प्रतिशतभन्दा बढी रोपाइँ गर्दा जमिन जोत्न गोरु नै प्रयोग गरिन्छ । तर, देशभर किसानको गोठका गोरु लम्पी स्किन महामारीले ढलिरहेका छन् ।

धान रोपाइँ हुने बेला नै देशको पूर्वदेखि पश्चिमसम्म लम्पी स्किनले गोरु थलिने र मर्ने क्रममा जारी छ । यही वर्ष मनसुनी वर्षा कम हुँदा पनि धान रोप्न ढिला भइरहेको छ । नेपालको आर्थिक वृद्धिदरलाई धान उत्पादनले सीधै प्रभाव पार्ने गर्छ । 

व्यवसायिक पशुपालन एकीकृत सर्वेक्षण, २०७८ अनुसार देशभर व्यवसायिक रुपमा करिब ४४ हजार गाईगोरु पालन भइरहेको छ । ती मध्ये स्थानीय जातका गाईगोरुको संख्या जम्माजम्मी ११ हजार छ । नेपालको पहाडी क्षेत्रमा स्थानीय जातका गोरुहरू नै खेत जोत्न प्रयोग गरिन्छ । तराईमा भने ट्याक्टर र राँगा प्रयोग गरेर पनि खेतबारी जोतिन्छ ।

प्रतिक्रिया दिनुहोस