aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ऊर्जामन्त्री बस्नेतलाई घोषणा गर्ने रहर : १० वर्षमा थप २५ हजार मेगावाट विद्युत !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १२ साउन २०८०
ऊर्जामन्त्री बस्नेतलाई घोषणा गर्ने रहर : १० वर्षमा थप २५ हजार मेगावाट विद्युत !

काठमाडौं । जलविद्युत विकास गर्ने भन्दै घोषणा गरिएका झण्डै दर्जन योजना, कार्यनीति र लक्ष्यहरू अलपत्र छन्‌ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले भने यस्ता अलपत्र लक्ष्यमा आफ्नो हिस्सा पनि थप्न लागेका छन्‌ ।

मन्त्री बस्नेतको निर्देशनमा ऊर्जा मन्त्रालयले ‘ऊर्जा विकास दशकको रोडम्याप’ भन्दै नयाँ कागजी दस्तावेज तयार गर्न लागेको हो। आगामी १० वर्षभित्र ऊर्जा क्षेत्रमा फड्को मार्न यो रोडम्याप तयार गर्न लागिएको मन्त्री बस्नेतको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा विकास दशकको रोडम्याप बनाउन मन्त्रालयले अहिल शोध गरिरहेको बताएका छन्‌ । शुक्रबार अमेरिकन चेम्बरका प्रतिनिधि मण्डलसँग भेटघाटका क्रममा मन्त्री बस्नेतले आगामी १० वर्षलाई ऊर्जा विकास दशक घोषणा गरी नेपालमा २० देखि २५ हजार मेघावाट विद्युत उत्पादन गर्ने गरी योजना बनाउन लागिएको समेत बताए ।

ऊर्जाको उत्पादनसँगै प्रसारण लाइन र वितरण प्रणालीको विकासको योजना पनि रोडम्यापमा रहने उल्लेख गर्दै मन्त्री बस्नेतले त्यसका लागि नीतिगत सुधार समेत गर्ने गरी अध्ययन भइरहेको पनि उनले बताएका छन्‌ । ऊर्जा क्षेत्रका नीति सुधारका लागि इनोभेटिभ वित्तिय मोडालिटी अपनाइने उल्लेख गर्दै मन्त्री बस्नेतले यसका लागि वैदेशिक प्रत्यक्ष लगानी र निजी क्षेत्रको थप संलग्नतालाई बढाइने जानकारी दिए । उनले त्यसका लागि थप नीति निर्माण गर्नुका साथै उपलब्ध नीति नियमहरुको सुधार गरिने बताए ।

मन्त्री बस्नेतले नेपालमा पछिल्लो समय जलवायु परिवर्तनको प्रत्यक्ष रुपमा देखिने गरी असर पर्न थालेको र त्यो बढिरहेको भन्दै त्यसका लागि पनि केही काम गर्नुपर्ने बताए । उनले पर्यावरणीय समस्याहरूको दीर्घकालीन समाधानका लागि नवीनतम उपायहरू पत्ता लगाउनुपर्ने कुरामा जोड दिँदै यो कुरा पनि मन्त्रालयको रोडम्यापमा समेटिने जानकारी दिए ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा आर्थिक वृद्धि हासिल गर्नका लागि स्वच्छ ऊर्जा क्षेत्र र दिगो जलवायु अनुकुल पुर्वाधारमा लगानी गर्नुपर्ने उल्लेख गर्दै मन्त्री बस्नेतले पर्यावरणीय दिगो हरित हाइड्रोजन अर्थतन्त्रको विकास गरी ऊर्जा र खाद्य सुरक्षाको सुनिश्चितता बढाउने रोडम्यापको लक्ष्य रहने उल्लेख गरे ।

त्यसैगरी उनले ऊर्जाको उपभोग देशभित्रै बढाउने बारे नीतिगत व्यवस्था गर्ने बारे गृहकार्य पनि भइरहेको जानकारी दिए । विद्युतीय सवारी साधन, शौर्यबत्ती, पानी तताउने शौर्य मेसिन, विद्युतीय चुलोजस्ता उपकरणलाई प्रोत्साहन गरेर पेट्रोलियम पदार्थको खपत घटाउन सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस