aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मिड सोलु हाईड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ साउन २०८०
मिड सोलु हाईड्रोपावरको आईपीओ आजदेखि बिक्रीमा

काठमाडौं । मिड सोलु हाईड्रोपावर लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रूपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्न लागेको हो भने दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने शेयरमध्ये १० प्रतिशत दरको ७४ हजार ८४० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो । 

आयोजना प्रभावित स्थानीयमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये पनि ५ लाख ६१ हजार ३०० कित्ता आईपीओ आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरूका लागि विक्री खुला गरिएको हो । यो वाहेक बाँकी १ लाख ८७ हजार १०० कित्ता शेयर अति प्रभावित क्षेत्र वाहेकका सोलुखुम्बु जिल्लाको स्थानीय वासिन्दाहरूमा विक्री खुला गरिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न लागेको हो । दुबै समूहका लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री अवधि छिटोमा साउन २८ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ११ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन २८ गतेभित्र आवेदन दिईसक्नुपर्नेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै स्थानीयले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भनसम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन् । 

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ साल पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ । यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रूपैयाँ रहेको छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रूपैयाँ ५ पैसा रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस