
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असार ३१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि विक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रिमियम मुल्य सहित प्रतिकित्ता २४४ रूपैयाँमा १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा प्रिमियम वापत १४४ रूपैयाँ थप गरेको हो ।
जारी पूँजी ३ अर्ब ७५ करोड रूपैयाँको ३० प्रतिशत शेयर विक्री गर्न अनुमति पाएको कम्पनीले पहिलो चरणमा ११ लाख २५ हजार कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री खुला गरेको हो । कुल कित्ता शेयरमध्ये ५ लाख ६२ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूमा प्रतिकित्ता १०० रूपैयाँ अंकित मल्यमै विक्री गर्ने जानकारी कम्पनीले दिएको छ ।
यी वाहेक ५ लाख ६२ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित राखी ९० लाख कित्ता भने दोस्रो चरणमा सर्वसाधारणमा सार्वजनिक निष्कासनमा ल्याइने भनाई कम्पनीको छ । न्यूनतम १० कित्तादेखि अधिकतम ११ लाख २५ हजार कित्तासम्म वैदेशिक रोजगारीमा रहेका नेपालीले कम्पनीको शेयर खरिद माग गर्न सक्ने व्यवस्था छ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ । नयाँ जीवन बीमा कम्पनीको रूपमा यस कम्पनीले २०७४ साल कात्तिक २ गतेदेखि कारोबार सुरू गरेको हो । हाल कम्पनीले ४६ कार्यालय तथा ९४ उपशाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ । अघिल्ला तीन आर्थिक वर्ष निरन्तर सञ्चित नाफामा रहेको कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ४३ करोड रूपैयाँभन्दा बढी सञ्चित नाफा गरेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १७२ रूपैयाँ ४३ पैसा रहेको छ ।
प्रतिक्रिया दिनुहोस