aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अब पाइडल रिक्साको सट्टा ई–रिक्सा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १४ साउन २०८०
अब पाइडल रिक्साको सट्टा ई–रिक्सा

चितवन । कुनै समय चितवनको मुख्य बजार नारायणगढ र भरतपुरको सडकमा यत्रतत्र गुड्ने पाइडल रिक्सा अहिले देख्न पाइदैन । साँझ होस् या बिहान, राति होस् वा दिउँसो, जुनसुकै समयमा पनि यात्रुको प्रतीक्षामा सडकका चोक–चोकमा भेटिने पाइडल रिक्सा अहिले खोज्दा पनि नभेटिने अवस्थामा पुगेका छन् ।

साँघुरा सडक र ठूला सवारीसाधन नजाने बाटोमा यात्रुको सहारा बन्ने गरेका यस्ता रिक्सा विगत पाँच/सात वर्षदेखि भरतपुर तथा नारायणगढ बजारमा देखिन छाडिएका छन् । मानव श्रमबाट चल्ने वातावरणमैत्री पाइडल रिक्सा अहिले लोप भएका छन् । पाइडल रिक्सालाई ब्याट्रीबाट चल्ने इलेक्ट्रिक रिक्सा र इन्धनबाट चल्ने अटो रिक्साले विस्थापित गरेको हो ।

भरतपुर महानगरपालिका–९ का मैतलाल गुरुङले २०३५ सालमा पहिलोपटक पाइडल रिक्सा यहाँ भित्र्याउनु भएको थियो । तत्कालीन समयमा भरतपुरमा साइकल पसल सञ्चालन गरेका गुरुङले यस क्षेत्रमा यातायात सहज बनाउने उद्देश्यले भारतीय सिमावर्ती बजार रक्सौलबाट १० चालकसहितका रिक्सा ल्याई सञ्चालन गरेका थिए । उनले दैनिक भाडामा साइकल दिँदै गर्दा यहाँ रिक्सा पनि ल्याएर भाडामा दिन सकिने सोच बनाउँदै रिक्सा ल्याएका थिए  । 

गुरुङले भने, ‘सुरुआतमा रिक्सा ल्याउँदा ब्लुबुकसमेत दिने गरिन्थ्यो ।’ साइकल व्यवसायमा रिक्सा थपेपछि व्यापार अझ उकासिन्छ भनेर रिक्सा खरिद गरेर ल्याएको उनले बताए । सो समयमा प्रति रिक्सा रु सात सयका दरले किनेर चितवन ल्याएको गुरुङले स्मरण गरे । त्यसपछि क्रमशः नारायणगढका अन्य व्यापारीले पनि रिक्सा ल्याउने क्रम बढ्दै गएको उनको भनाइ छ । बजारमा अन्य व्यवसायीले पनि रिक्सा ल्याएर भाडामा दिने क्रम बढेपछि आफूले साइकल पसल र त्यो व्यवसाय नै छाडेको गुरुङले बताए । 

उनी भन्छन्‌, ‘मैले ल्याएका रिक्सा पनि बजारका व्यापारीलाई सुम्पेर अन्य व्यवसायमा लागेँ ।’ पाइडल रिक्सा व्यवसायको सुरुवात गर्ने ८५ वर्षीय गुरुङलाई अहिले आएका वैकल्पिक सवारीसाधनको कारणले रिक्सा लोप हुँदा त्यति खुसी भने लागेको छैन । उनले भने, ‘बिना इन्धन चल्ने रिक्सा जतिको सहज सवारीसाधन अहिलेका सवारी छैनन् ।’

विगत ४० वर्षदेखि नारायणगढमा रिक्सा चलाउँदै आएका छोटेलाल चौधरी अहिले पनि कहिलेकाहीँ पाइडल रिक्सा रिक्सा चलाउँछन्‌ । उनी आफ्नो व्यक्तिगत कामका लागि मात्रै पाइडल रिक्सा चलाउँछन्‌ । 

‘यात्रु चढ्न छाडेपछि आफ्नै कामका लागि प्रयोग गर्ने गरेको छु’, ६० वर्षीय चौधरीले भने, ‘सबै साथीहरूले रिक्सालाई ठेलामा परिणत गरेर सामान बोक्ने गरेका छन्, तर मलाई त्यसो गर्न मन लागेन ।’ आफ्नो परिवारका सदस्यलाई नजिकको यात्राका लागि पाइडल रिक्सा प्रयोग गर्ने गरिएको चौधरीको भनाइ छ । 
 
नारायणगढका रिक्सा ग्यारेज सञ्चालक राजकिशोर चौधरीले बजारमा पाइडल रिक्सा नचलेपछि आफ्नो ग्यारेजमा भएका रिक्सालाई सामान बोक्ने ठेला बनाएर भाडामा लगाउँदै आएको उनले बताए । उनले अटो रिक्सा पनि चलाउँदै आएका छन्‌ । वि.सं. २०७२ मा चितवनमा ई–रिक्सा भित्रिएको हो ।

प्रतिक्रिया दिनुहोस