
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि बुक क्लोजको मिति तोकेको छ । हकप्रद निष्कासनको मिति तय गर्न बाँकी कम्पनीले बुक क्लोज भने साउन २६ गते गर्ने जानकारी दिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत बुक क्लोजको सुचना कम्पनीले जारी गरेको हो । बुक क्लोजको आधारमा साउन २५ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न पाउनेछन् । कम्पनीले हाल कायम चुक्तापूँजी १० अर्ब ५९ करोड रूपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले १ बराबर १ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गर्न कम्पनीलाई असार २२ गते स्वीकृति प्रदान गरेको हो । शतप्रतिशत हकप्रद विक्रीपछि कम्पनीको चुक्तापूँजी २१ अर्ब १८ करोड रूपैयाँ कायम हुनेछ । हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत आयोजनाहरु रोल्वालिङ खोला जलविद्युत र तामाकोशी–५ जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने जानकारी कम्पनीले दिएको छ ।
यो कम्पनी अझै नोक्सानीमा रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी २ अर्ब २ करोड ३४ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । यस कम्पनीले राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरी २०७८ साल भदौ २५ देखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस